विद्यार्थीहरूलाई निःशुल्क खाजा उपलब्ध गराउने ग्रीन पार्टीको प्रस्ताव

क्यानबेरा:विधालयमा विधार्थीको सहभागीता बृद्धि र अध्ययनमा सहयोग होस भन्ने उद्धेश्यले अष्ट्रेलियाको एक पार्टीले विधालयमा निशुल्क खाजा दिने योजना ल्याएको छ । सार्वजनिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई निःशुल्क खाजा उपलब्ध गराउने योजना अष्टेलियाको ग्रीन पार्टीले सार्वजनिक गरेको हो ।

पार्टीले सार्वजनिक विद्यालयहरूमा दैनिक रुपमा पौष्टिक खाजा उपलब्ध गराउने लक्ष्य लिएको छ । हाल सञ्चालनमा रहेका निःशुल्क नास्ता कार्यक्रमलाई विस्तार गर्न वार्षिक ८५ मिलियन डलर बजेटको व्यवस्था गर्ने प्रस्ताव पनि गरेको ग्रीन पार्टीले जनाएको छ ।

पार्टीले अल्पसंख्यक सरकारमा प्रभाव राखेमा यो योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

चार वर्षको अवधिमा करिब ११.६ अर्ब डलर खर्च हुने अनुमान गरिएको उक्त योजना अष्ट्रेलियाको संसदीय बजेट कार्यालयबाट मूल्याङ्कन गरिसकिएको छ ।

ब्रिसबेनस्थित ग्रिफिथ निर्वाचन क्षेत्रमा ग्रीन पार्टीका सांसदद्वारा सञ्चालित विद्यालय नास्ता कार्यक्रमले अहिलेसम्म ४० हजार भन्दा बढी खाजा वितरण गरिसकेको छ । यस कार्यक्रमले विद्यार्थीहरूको विद्यालयमा उपस्थिति, ध्यान केन्द्रित गर्ने क्षमता, अनुशासन, पोषण स्तर र समग्र स्वास्थ्यमा सकारात्मक असर देखाएको पार्टीको दाबी छ ।

यस कार्यक्रमलाई देशभरका सार्वजनिक विद्यालयमा विस्तार गरी संघीय सरकारमार्फत स्थायी बजेट व्यवस्थापन गर्नुपर्ने ग्रीन पार्टीको माग रहेको छ ।

पार्टीले ठूलो व्यवसायिक समूह र अर्बपतिहरूबाट कर संकलन वृद्धि गरेर यस्तो सामाजिक कार्यक्रमहरू सञ्चालन गर्न सकिने उल्लेख गरेको छ। ग्रीन पार्टीले यसअघि नै ठूलो कम्पनीहरूलाई लक्षित गरी प्रस्तावित कर योजनाबाट दस वर्षमा ५१४ अर्ब डलर संकलन हुने अनुमान सार्वजनिक गरिसकेको छ, जसबाट स्वास्थ्य, बाल हेरचाह र विद्यालय खाजा कार्यक्रमजस्ता निःशुल्क सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको छ ।

यस कार्यक्रमले बालबालिकाको सिकाइ क्षमतामा सुधार ल्याउने र आर्थिक समस्यामा रहेका परिवारहरूलाई राहत पु¥याउने शैक्षिक क्षेत्रका विज्ञहरूको धारण रहेको छ ।