क्यानबेरा,अष्ट्रेलियाली सरकारले आगामी आर्थिक वर्षको संघीय बजेट सार्वजनिक गर्दै नागरिकहरूको जीवनयापन सहज बनाउन विभिन्न राहत योजनाहरू अघि सारेको छ ।
महँगी नियन्त्रण,कर कटौती,ऊर्जा बिल छुट,घर खरिद सहायता र आप्रवासन नीतिमा परिमार्जनसहित सहज बजेट घोषणा गरिएको छ । शिक्षा तथा स्वास्थ्य सुधारमा समेत ठूलो बजेट विनियोजन गर्दै सरकारले विद्यार्थी तथा निम्न आय भएका वर्गका लागि महत्वपूर्ण सहयोगको आश्वासन दिएको छ ।
बढ्दो मुद्रास्फीति र दैनिक जीवनयापनमा खर्च बढ्दै गएपछि सरकारले कर कटौतीको नीति अघि सारेको छ । नयाँ घोषणाअनुसार करको दरमा दुई प्रतिशतले कमी गरिनेछ, जसले न्यून आय भएका नागरिकलाई वार्षिक २सय ६८ $सम्मको कर छुट दिनेछ । साथै, ऊर्जा महशुलमा समेत राहत दिँदै सरकारले प्रत्येक परिवारको बिजुली बिलमा अतिरिक्त $75 छुट दिने निर्णय गरेको छ । औषधीको मूल्यलाई समेत पुनरावलोकन गर्दै सरकारले सहुलियत प्राप्त औषधीहरूको अधिकतम मूल्य $31.60 बाट घटाएर $25 पुर्याएको छ । यस निर्णयले विशेष गरी दीर्घरोगी तथा औषधीमा निर्भर रहेका नागरिकहरूलाई प्रत्यक्ष रूपमा आर्थिक राहत दिने अपेक्षा गरिएको छ ।
शिक्षा क्षेत्रमा लगानी बढाउँदै सरकारले उच्च शिक्षा ऋण (HECS) अन्तर्गत $16 अर्ब डलरअर्ब डलर माग गर्ने घोषणा गरेको छ । विद्यार्थीहरूको आर्थिक भार कम गर्न सरकारले ऋण तिर्ने प्रक्रियालाई सरल बनाउन नयाँ योजनाहरू अघि सारेको छ ।
साथै, छात्रवृत्ति तथा सहज किस्तामा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरूका लागि सरकारले ल्याएको यो नीति अत्यन्त प्रभावकारी हुने विश्वास गरिएको छ।
पहिलो पटक घर खरिद गर्न चाहने नागरिकहरूलाई सरकारले थप आर्थिक सहयोगको व्यवस्था मिलाएको छ । Help to Buy’ योजनामा $800 मिलियन थप गर्दै सरकारले घर किन्नेहरूलाई वित्तीय सहायता उपलब्ध गराउनेछ । यसबाहेक, विदेशी नागरिकहरूलाई आगामी दुई वर्षका लागि अष्ट्रेलियामा घर खरिद गर्न नपाउने गरी नयाँ नियम लागू गरिने भएको छ। सरकारले घर खरिदलाई प्राथमिकता दिँदै आम्दानीको सीमा एकल व्यक्तिका लागि $100,000 र जोडीहरूका लागि $160,000 तोकेको छ।
सार्वजनिक यातायात पूर्वाधार सुधारका लागि सरकारले ठूलो लगानीको घोषणा गरेको छ । मेलबर्नको पश्चिमी Sunshine Rail Hub निर्माण गर्न $2 अर्ब डलर छुट्याइएको छ।। राजधानी तथा अन्य प्रमुख सहरहरूमा रेल, सडक, पुल तथा यातायात पूर्वाधार विस्तारको कामलाई तीव्र बनाउने उद्देश्यसहित ठूलो बजेट विनियोजन गरिएको छ।
सरकारले प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत प्रदान गर्न $1.2 अर्ब डलरको सहायता कोष स्थापना गरेको छ।
बाढी, चक्रवात तथा अन्य प्राकृतिक प्रकोपहरूबाट प्रभावित नागरिकहरूलाई आपतकालीन सहायता उपलब्ध गराउने तयारी गरिएको छ। यसका साथै, राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाउन $10 अर्ब डलरको रक्षा बजेट सार्वजनिक गरिएको छ।
नयाँ आप्रवासन नीतिअन्तर्गत सरकारले आगामी वर्ष ३ लाख ३५हजार आप्रवासीलाई अष्ट्रेलियामा स्वागत गर्ने अनुमान गरेको छ । सन् २०२६ मा यो सङ्ख्या घटेर २लाख ६०हजार रहने अनुमान गरिएको छ । सरकारको नीति अनुसार, न्यूसाउथवेल्स राज्यबाट अन्य राज्यमा जाने आप्रवासीहरूको सङ्ख्या यो वर्ष २८ हजार ३ सय पुग्नेछ भने भिक्टोरियामा १८हजार अन्तर राज्यीय बसाइँसराइ हुनेछ ।
यस वर्षको बजेट इतिहासकै सबैभन्दा ठूलो घाटामा जाने देखिएको छ। कुल बजेट घाटा $42.1 अर्ब डलर रहने अनुमान गरिएको छ ।तर, सरकारले स्वास्थ्य, शिक्षा, यातायात, घर खरिद र आप्रवासन नीतिमा विशेष ध्यान दिँदै नेपाली समुदायसहित सम्पूर्ण आप्रवासीहरूलाई राहत दिने योजना अघि सारेको छ । नयाँ बजेटले स्वास्थ्य सेवा, ऊर्जा बिल छुट र विद्यार्थी ऋण सहायता जस्ता विषयमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।






