महँगी बढ्दै जाँदा अस्ट्रेलियालीहरूको तलब अपेक्षा बढ्दो

अस्ट्रेलियामा कति आम्दानीलाई ‘राम्रै तलब’ मान्न सकिन्छ भन्ने विषयमा गरिएको नयाँ अध्ययनले युवा पुस्ताले अझै धेरै तलव वृद्धि गर्नु पर्ने धारणा राखेका छन् । अहिले अस्ट्रेलियालीहरूको आधारभूत आवश्यकता वृद्धि,महँगी उच्च रहेकोले युवा पुस्ताले तलव वृद्धिको माग गरेको हो । 

पहिले एक लाख डलरको तलबले आरामदायी जीवनयापन सम्भव थियो, तर अहिले आधारभूत आवश्यकताको वृद्धि,ठूला शहरहरूमा विशेष गरी सिड्नी र मेलबर्न जस्ता स्थानहरूमा महँगी उच्च रहेकाले तलबको आवश्यक बढेको अर्थविद्हरूको भनाइ छ । 

 पछिल्लो सर्वेक्षणअनुसार, औसत अस्ट्रेलियालीले वार्षिक १ लाख ५२ हजार ७७५ डलर आम्दानीलाई राम्रो तलब मान्ने गरेका छन्। तर, यो आंकडा उमेर समूहअनुसार फरक पाइएको छ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (ABS) का अनुसार, हाल पूर्णकालीन कर्मचारीहरूको औसत वार्षिक तलब १ लाख डलर भन्दा थोरै बढी छ।  जुन  माध्यमिक तलब ($88,000) भन्दा १४ प्रतिशत बढी हो। विज्ञहरूका अनुसार, पछिल्ला वर्षहरूमा मुद्रास्फीति, घरजग्गा मूल्य वृद्धी, र जीवनयापन खर्च बढेसँगै मानिसहरूको तलबप्रतिको अपेक्षा बदलिएको छ।

राज्यअनुसार पनि राम्रो तलबको परिभाषा फरक देखिएको छ। न्यू साउथ वेल्स का बासिन्दाहरूले १ लाख ६८ हजार १ सय ६० डलर लाई राम्रो तलब मान्ने गरेका छन्, जुन देशभरमै सबैभन्दा उच्च हो। विपरीत, साउथ अस्ट्रेलियामा अपेक्षित तलब १ लाख ४० हजार ३ सय ३४ डलर मात्रै रहेको छ, जुन सबैभन्दा न्यून हो। अन्य राज्यहरूमा पनि यो आंकडा केही फरक देखिएको छ।

सर्वेक्षणमा फरक पुस्ताबीचको सोच पनि स्पष्ट देखिएको छ। पुरानो पुस्ताले अहिलेको तलब संरचनालाई राम्रै माने पनि युवा पुस्ताले भने अझै धेरै आम्दानी आवश्यक पर्ने धारणा बनाएका छन्। महँगी बढेसँगै युवा पुस्ताको तलब अपेक्षा पनि उच्च रहेको विज्ञहरू बताउँछन्।

यो अध्ययनले देखाएको छ कि जीवनशैली, स्थान, उमेर र आर्थिक परिवेश अनुसार अस्ट्रेलियालीहरूको तलबप्रतिको बुझाइ फरक भइसकेको छ। एक दशक अगाडिको तुलनामा हाल राम्रो तलब मानिने रकम उल्लेखनीय रूपमा बढेको पाइन्छ।