अष्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना हुँदै

डि व्याइज इन्टरटेन्मेन्टको आयोजनामा मे २८ देखि जुन १ सम्म अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ सम्पन्न हुने भएको छ। नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै नेपाली पर्यटनलाई समेत प्रचार गर्ने उद्देश्यसहित यो अवार्ड कार्यक्रम आयोजना हुन लागेको हो।

नेपालबाहिर नेपाली फिल्मका लागि सबैभन्दा ठूलो बजार मानिने अष्ट्रेलियामा, धेरै आशा गरिएका फिल्महरू उच्च मूल्यमा विक्री हुने गरेका छन्। यही प्रवृत्तिलाई थप उचाइमा पुर्‍याउने लक्ष्यसहित आयोजना गरिने अवार्डमा, नामांकनमा परेका फिल्मीकर्मी, प्राविधिक, फिल्म पत्रकार तथा आयोजकहरू मात्र सहभागी हुन पाउनेछन्।

पुरस्कार वितरण प्रक्रियामा फिल्म क्षेत्रका अनुभवी व्यक्तित्वहरूबाट नै जुरी चयन गरी विभिन्न १८ विधामा अवार्ड प्रदान गरिनेछ। यसमा उत्कृष्ट फिल्म, निर्देशक, कथा, संगीत, अभिनेता, अभिनेत्री, चरित्र कलाकार, गायक-गायिका, छायांकार, सम्पादन, ब्याकग्राउन्ड स्कोर लगायतका विधाहरू समेटिनेछन्। साथै, ‘पपुलर नायक’ र ‘पपुलर नायिका’ विधामा समेत दर्शकप्रिय कलाकारहरूलाई सम्मान गरिनेछ।

चलचित्र पत्रकारिताको योगदानलाई कदर गर्दै एक जना पत्रकारलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ भने एकजना विशिष्ट फिल्मकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ नगद राशीसहित प्रदान गरिनेछ।

वि.सं २०८० मा प्रदर्शन भएका फिल्महरूको दर्ता प्रक्रिया सुरु भइसकेको आयोजक संस्थाका प्रमुख गणेश मल्लले जानकारी दिए। अष्ट्रेलियन फिल्मकर्मी, वितरक, तथा नेपाली र अष्ट्रेलियन दर्शकहरूको समेत सहभागिता रहने यस अवार्ड कार्यक्रमपछि नेपाली फिल्म बजारको अवस्था र प्रवर्द्धनका विषयमा नेपाली तथा विदेशी फिल्मकर्मीहरूबीच विशेष संवाद कार्यक्रमसमेत आयोजना गरिनेछ।