नेपालीभाषी बालिका विनिता क्षेत्रीको ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा उत्कृष्ट प्रस्तुति

८ वर्षीया नेपालीभाषी बालिका विनिता क्षेत्रीले बेलायती रियालिटी शो ब्रिटेन्स गट ट्यालेन्ट मा अद्भुत प्रस्तुति दिएकी छन्। शनिबार प्रसारित शोमा उनले कन्टेम्पोररी र एक्रोब्याटिक शैलीमा नृत्य प्रस्तुत गर्दै निर्णायकहरूलाई अचम्मित पारिन्। उनको लचकदार शारीरिक भंगिमासहितको नृत्यले चारै जना निर्णायकलाई मन्त्रमुग्ध बनायो, जसका कारण उनीहरू उभिएर ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए।

उनको प्रस्तुतिप्रति जजहरूले उच्च प्रशंसा व्यक्त गर्दै यस्तो नृत्य पहिला कहिल्यै नदेखेको प्रतिक्रिया दिए। उनले पपस्टार केटी पेरीको चर्चित गीत Roar मा नृत्य गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

शोमा सहभागी हुन आएको कारणबारे उनले “ब्रिटेन्स गट ट्यालेन्ट मेरो सपना पूरा गर्ने मञ्च हो, र म जित्न चाहन्छु। यदि जितेँ भने, म प्रिन्स र प्रिन्सेस बस्ने घर किन्न चाहन्छु”, भन्ने बालसुलभ उत्तर दिएकी थिइन्, जसले दर्शकको मन जितेको छ।

भारतको आसामबाट आएकी विनिता बुवासँगै शोमा सहभागी भएकी थिइन्। उनको प्रस्तुति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसले उनलाई थप चर्चाको शिखरमा पुर्याएको छ।