नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री एवं युट्युबर प्रजक्ता

बलिउड अभिनेत्री तथा चर्चित युट्युबर प्रजक्ता कोली विवाह बन्धनमा बाँधिएकी छन्। उनले नेपाली युवा वृशांक खनालसँग मंगलबार भारतको खालापुरस्थित ओलियन्डर फार्म रिसोर्टमा परम्परागत हिन्दू विधिअनुसार विवाह गरेकी हुन्।

वृशांक कर्पोरेट कानुन व्यवसायी हुन् भने प्रजक्ता लामो समयदेखि फिल्म तथा डिजिटल मिडियामा सक्रिय छिन्। उनीहरु २०११ देखि प्रेम सम्बन्धमा रहेका थिए। मुम्बई विश्वविद्यालयमा अध्ययनकै क्रममा उनीहरुको चिनजान भएको थियो।

प्रजक्ताले बलिउड फिल्म ‘जुगजुग जियो’ मा अभिनेता वरुण धवनको बहिनीको भूमिका निर्वाह गरेकी थिइन्। साथै, उनले ‘नियत’ लगायतका फिल्म तथा ‘मिसम्याच्ड’ जस्ता लोकप्रिय वेब सिरिजमा अभिनय गरिसकेकी छन्।

युट्युबमा समेत प्रजक्ताको निकै ठूलो प्रभाव छ। उनको ‘मोस्टलीसेन’ नामक च्यानलमा ७२ लाखभन्दा बढी सब्सक्राइबर रहेका छन्। विवाह समारोहका तस्वीर तथा झलकहरु उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।