अस्ट्रेलियन सरकारले ‘फास्ट ट्रयाक’ प्रक्रियामार्फत छिटो विदेशी नर्सहरू ल्याउने 

 

क्यानबेरा,अस्ट्रेलियन सरकारले ‘फास्ट ट्रयाक’ प्रक्रियामार्फत छिटो विदेशी नर्सहरू ल्याउने तयारी गरेको छ ।

अस्ट्रेलियाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा नर्स अभाव हुदै गएपछि सरकारले वैदेशिक श्रमिक भित्याउने नीति अनुसार विदेशी नर्स भित्याउने तयारी गरेको हो । 

सरकारलाई बुझाएको प्रतिवेदनअनुसार, अस्ट्रेलियाले बेलायत,आयरल्याण्ड, सिंगापुर, स्पेन, अमेरिका र क्यानडाका नर्सलाई प्राथमिकताका साथ भित्याउने निर्णय गरेको छ । 

सो निर्णय नर्स तथा मिडवाइफरी नियामक निकायAustralian Health Practitioner Regulation Agency (AHPRA)  को प्रतिवदेनमा उल्लेख छ ।  त्यसैगरी  क्यानडाको ब्रिटिश कोलम्बिया र ओन्टारियोका नर्सहरूको दर्ता प्रक्रियालाई सरकारले अझ सहज बनाउने उल्लेख छ ।

अस्ट्रेलियामा नर्स बन्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पूरा गर्नुपर्ने अंग्रेजी भाषा परीक्षाको आवश्यकतामा पनि सरकार लचक बनेको छ। अब IELTS परीक्षामा समग्रमा ७ अंक अनिवार्य रहे पनि लेखन (Writing) मा न्यूनतम ६.५ नम्बर पुग्नेछ। यस्तै, PTE परीक्षामा समग्रमा ६६ भए पुग्ने र लेखनमा ५६ भएपनि योग्य मानिने व्यवस्था गरिएको छ।

सरकारी अनुमानअनुसार, सन् २०३५ सम्म देशभर ७१ हजारभन्दा बढी नर्सको अभाव हुने देखिएको छ । यस समस्यालाई सम्बोधन गर्न सरकारले ‘फास्ट ट्रयाक’ प्रक्रियामार्फत छिटो दर्ता गराएर विदेशी नर्सहरू ल्याउने भएको हो ।

ताजा जानकारीका लागि AHPRA  तथा अस्ट्रेलियाली स्वास्थ्य विभागको आधिकारिक वेबसाइट हेर्न सकिन्छ ।