अष्ट्रेलियामा विदेशी लगानीकर्ताले पुराना घर किन्न नपाउने, रिजर्भ बैंकले भने ब्याजदर घटाएर ४.१०% मा ल्यायो

अष्ट्रेलियन सरकारले विदेशी लगानीकर्ताहरूलाई पुराना घरहरू किन्न रोक लगाउने निर्णय गरेको छ। सन् २०२५ को अप्रिलदेखि लागू हुने यो नीति सन् २०२७ को मार्च ३१ सम्म जारी रहनेछ। सरकारले आफ्ना नागरिकहरूलाई घर खरिदमा प्राथमिकता दिने संकेत गरेको छ।

यो नीति लागू भएपछि अष्ट्रेलियाबाहिर बसोबास गर्ने गैर–निवासी विदेशीहरूले पुराना घर वा अपार्टमेन्ट किन्न पाउने छैनन्। नीति कार्यान्वयनका लागि अष्ट्रेलियन कर कार्यालय (ATO)लाई चार वर्षको अवधिका लागि ५.७ मिलियन डलरको बजेट छुट्याइएको छ।

अष्ट्रेलियन सरकारका कोषाध्यक्ष (Treasurer) जिम चाल्मर्स र आवास मन्त्री (Housing Minister) क्लेयर ओ’निलले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनेका छन्, “यस कदमले अष्ट्रेलियन नागरिकहरूलाई घर खरिदमा अवसर प्रदान गर्छ र विदेशी लगानीकर्ताहरूलाई पुराना घर खरिद गर्ने बाटो बन्द गर्छ।”

तर, तथ्यांक हेर्दा विदेशी लगानीकर्ताको प्रभाव ठूलो नरहेको देखिन्छ। अष्ट्रेलियन कर कार्यालय (ATO) का अनुसार, सन् २०२२/२३ मा ५,३६० घरहरू गैर–निवासी विदेशीहरूले किनेका थिए, जसमा करिब एक तिहाइ पुराना घरहरू थिए। यो संख्या सोही वर्ष बिक्री भएका ६,६५,००० घरहरूको १% भन्दा पनि कम हो।

यसैबीच, अष्ट्रेलियाको रिजर्भ बैंक (RBA) ले हालै आधिकारिक ब्याजदर ४.३५% बाट घटाएर ४.१०% मा ल्याएको छ। पछिल्लो चार वर्षमा यो पहिलो पटक ब्याजदर घटाइएको हो। यसअघि सन् २०२० को नोभेम्बरमा ब्याजदर कटौती गरिएको थियो।

ब्याजदर कटौतीले घरधनीहरू र व्यवसायहरूलाई केही राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। तर, रिजर्भ बैंकले भविष्यमा थप कटौतीहरूको कुनै ग्यारेन्टी गर्न नसकिने स्पष्ट पारेको छ।