अस्ट्रेलियामा साइकल चलाउँदा के-कस्ता नियम पालना गर्नुपर्छ?

अस्ट्रेलियामा साइकल चलाउनु केवल मनोरञ्जन मात्र होइन, यसलाई यातायात, शारीरिक सक्रियता र वातावरणमैत्री यात्राको रूपमा समेत लिइन्छ। चाहे बच्चा होस् वा वयस्क, साइकल चलाउन सिक्नु रमाइलो अनुभव हुन सक्छ, तर सुरक्षित रूपमा चलाउने कुरामा सचेत हुनु अत्यावश्यक छ।

अस्ट्रेलियामा साइकल चलाउँदा हेल्मेट लगाउन अनिवार्य छ। नियम उल्लङ्घन गरेमा ठूलो जरिवाना लाग्न सक्छ। सडकमा रातो बत्ती, स्टप साइन पालना गर्नुपर्छ भने वयस्कहरूले फुटपाथमा साइकल चलाउन पाउँदैनन्। राति वा खराब मौसममा २०० मिटर टाढाबाट देखिने बत्ती जडान गर्नुपर्ने नियम छ।

देशभर नै राम्रो साइकल पूर्वाधार छ, जसमा छुट्टै बाइक लेन, ट्रेल र सुरक्षित पार्किङको व्यवस्था गरिएको छ। ठूला सहरका कार्यस्थलहरूमा नुहाउने, लकर, र बाइक पार्किङ जस्ता सुविधाहरू समेत पाइन्छ।

साइकल चलाउनु शारीरिक स्वास्थ्यका लागि उत्कृष्ट छ। “बाइसाइकल नेटवर्क” जस्ता संस्थाहरूले आप्रवासीहरूलाई लक्षित गरेर साइकल सिकाउने कार्यक्रम सञ्चालन गर्छन्। सन् २०२३ मा मात्रै ९५ लाखभन्दा बढी अस्ट्रेलियनले साइकल चलाएको सर्वेक्षणले देखाएको छ।

सुरक्षित साइकल यात्राका टिप्स

  • नियम पालना गर्नुहोस् : हेल्मेट लगाउनुहोस्, संकेत दिन जान्नुहोस्, ब्रेक र गियरको सही प्रयोग गर्नुहोस्।
  • सजिलै देखिने लुगा लगाउनुहोस् : विशेष गरी रातिको समयमा चालकहरूलाई सजिलै देखिन प्रतिबिम्बित कपडा लगाउनुहोस्।
  • ठीक साइकल छनोट गर्नुहोस् : यात्रा दूरी र उद्देश्यअनुसार उपयुक्त साइकल छान्नुहोस्।
  • मार्ग पहिल्यै निर्धारण गर्नुहोस् : गुगल म्यापको प्रयोग गरी सुरक्षित र छोटो मार्ग पहिल्यै तय गर्नुहोस्।

अस्ट्रेलियामा साइकल चलाउनु केवल यातायातको साधन मात्र नभएर स्वस्थ जीवनशैली र वातावरणमैत्री विकल्प हो। सुरक्षित र सचेत भएर साइकल चलाउँदा यो दैनिक यात्राका लागि प्रभावकारी माध्यम बन्न सक्छ।