न्यू साउथ वेल्स (एनएसडब्ल्यू) स्थित नेपाली महावाणिज्य दूतावासको नयाँ कार्यालयको उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भएको छ। नेपालका नवनियुक्त राजदूत चित्रलेखा यादवले रिबन काटेर नयाँ कार्यालयको औपचारिक उद्घाटन गर्नु भएको हो।
यस उद्घाटनसँगै, दूतावासले यहाँका नेपाली समुदायको हक र हित प्रवर्द्धन गर्न र उनीहरूको सेवामा अझ प्रभावकारी भूमिका खेल्न प्रतिवद्धता जनाएको छ। दूतावासको कार्यालय अब एनएसडब्ल्यू क्षेत्रमा रहेका नेपाली नागरिकलाई प्रशासनिक तथा दूतावासीय सेवाहरूलाई सहज र प्रभावकारी ढंगले प्रवाह गर्ने दिशा मा अग्रसर हुनेछ।
सिड्नीको व्यस्त र प्रमुख स्थान, टाउनहलमा स्थित यो नयाँ कार्यालय नेपाली कला, संस्कृति र परम्पराले सजाइएको छ, जसले यहाँ आउने सबैलाई नेपालको मौलिक पहिचानको अनुभव प्रदान गर्नेछ।

यस समारोहमा विभिन्न समुदायका नेताहरू, व्यवसायी, पत्रकार र सामाजिक अगुवाहरूको उपस्थितिले नेपाली महावाणिज्य दूतावासको भूमिका र भविष्यका योजनामा सहकार्य गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ। यसले नेपाली डायस्पोरा बीच आपसी सहयोग र समन्वयको नयाँ युगको शुभारम्भ गर्ने आशा व्यक्त गरेको छ।
अब, यो नयाँ कार्यालयले एनएसडब्ल्यूमा रहेका नेपालीहरूको प्रशासनिक र दूतावासीय सेवामा थप सशक्त र प्रवर्द्धनशील भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
