सिड्नीको प्यारामाटामा एक नेपाली नर्सको बाल्कोनीबाट खसेर मृत्यु भएको छ। ३९ वर्षीया दीक्षा दाहाल २ जनवरीको बिहान करिब १:४० बजे अपार्टमेन्टको बाल्कोनीबाट खसेकी थिइन्। बाटोमा रहेका एक व्यक्तिले उनलाई बाल्कोनीबाट झुण्डिएको देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा उनी अपार्टमेन्टको ड्राइभवेमा गम्भीर अवस्थामा फेला परेकी थिइन्। जीवन बचाउन सीपीआर प्रयास गरिए पनि उनलाई बचाउन सकिएन।
घटनाको करिब दुई घण्टा अघि राति ११:४५ बजे प्रहरीलाई सोही अपार्टमेन्टबाट एउटा फोन आएको थियो। फोनमा कसैको आवाज नभए पनि पृष्ठभूमिमा झगडाको आवाज सुनिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीको तर्फबाट फोन फर्काएर सम्पर्क गर्न खोजे पनि प्रयास असफल भएको थियो।
त्यसपछि राति ११:४७ बजे प्रहरीले दीक्षाका श्रीमान् लब्रिन्डा सुवेदीसँग सम्पर्क गरेका थिए। उनले आफ्नो नाम र ठेगाना प्रदान गरेका थिए, र प्रहरीलाई घटनास्थलमा बोलाइएको जानकारी गराइएको थियो। तर, अन्य आकस्मिक घटनामा प्रहरी व्यस्त भएपछि घटनास्थल पुग्न दुई घण्टा ढिलाइ भएको थियो।
प्रहरीले लब्रिन्डा सुवेदीलाई ४ जनवरीमा गिरफ्तार गरी सोधपुछ गरेको थियो। उनलाई केही घण्टा पछि कुनै आरोप बिना रिहा गरिएको थियो।
गत नोभेम्बरमा प्रहरीद्वारा दीक्षा दाहालविरुद्ध एक ‘अप्प्रेहेन्डेड भायोलेन्स अर्डर’ (एभीओ) जारी गरिएको थियो। यद्यपि, उनी उक्त अपार्टमेन्टमा उपस्थित हुँदा उक्त आदेश उल्लंघन भएको थिएन। श्रीमान्–श्रीमती अलग बस्ने गरेका थिए।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ।
