काठमाडौं : दक्षिण कोरियामा जन्मदर घट्न थालेपछि सरकारले नै विवाहका लागि जोडि खोजिदिने भएको छ।
विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो। अब भने त्यहाँको सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले डेटिङ कार्यक्रम आयोजना गर्न थालेको छ।
बीबीसीका अनुसार दक्षिण कोरियामा विवाह दर ऐतिहासिक रूपमा न्यून बिन्दुमा पुगेको छ। सन् २०२३ मा एक दशकअघिको तुलनामा विवाह ४० प्रतिशतले घटेको देखियो। त्यहाँका युवा पुस्तामा विवाह ढिला गर्ने वा विवाह नगर्ने प्रवृत्ति बढिरहेको छ। साथै, प्रजनन दर पनि झन् घटेर विश्वकै सबैभन्दा न्यून बिन्दु ०.७२ मा झरेको छ।
विशेषज्ञहरूले यस स्थितिका लागि लामो कार्यघण्टा, महँगो आवास, र बाल हेरचाहको उच्च खर्चलाई प्रमुख कारण मान्छन्। २०१७ मा मेक्सिकोपछि दक्षिण कोरियाले संसारकै सबैभन्दा लामो कार्यघण्टा भएकाले काम-जीवन सन्तुलन राम्रो नभएको बताइएको छ। यसले परिवार सुरु गर्ने वा बच्चा जन्मिएपछि पुनः काममा फर्कने चाहनालाई निरुत्साहित गरेको छ।
स्पीड डेटिङबाट समाधान खोज्दै सरकार
सरकारले यस समस्यालाई हल गर्न विवाह प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्पीड डेटिङ’ कार्यक्रम सुरु गरेको छ। सरकारी सहयोगमा आयोजित यी कार्यक्रमले घट्दो जनसङ्ख्या र त्यससँग सम्बन्धित सामाजिक चुनौतीहरू समाधान गर्न प्रयास गरिरहेको छ।
