क्रिकेटर दाजुभाइ आशिफ र आरिफले एकै दिन बिहे गर्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका दाजुभाइ आरिफ शेख र आसिफ शेखले एकैदिन विवाह गर्ने निर्णय गरेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) सकिएलगत्तै, आरिफले सबाना खातुनसँग र आसिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार विवाह गर्ने योजना बनाएका हुन्।

विरगञ्जमा रहेका आरिफ र आसिफ अहिले आफ्ना विवाहको निमन्त्रणापत्र बाँड्न व्यस्त छन्। निमन्त्रणापत्रमा विवाहको रिसेप्सन मिति जनवरी ४, २०२५ (पुस २०, २०८१) वीरगञ्जमा हुने उल्लेख छ।

हालै सम्पन्न एनपीएलमा दुवै दाजुभाइ फरक-फरक टिमबाट खेलेका थिए। आसिफ जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्दै उपाधि जित्न सफल भए भने आरिफको टिम सुदूरपश्चिम रोयल्स उपविजेतामा सीमित रह्यो। प्रतियोगिताको फाइनल खेलमा दुवै भाइ आमनेसामने भएका थिए।

खेल मैदानमा प्रतिस्पर्धा गरिरहेका आफ्ना दुई छोराको खेल हेर्दा परिवारले छुट्टाछुट्टै टिमलाई समर्थन गरेको थियो। बुवा मोहमद सलाम शेखले आसिफको टिम जनकपुरलाई समर्थन गरे भने आमा प्रवीण बानुले आरिफको टिम सुदूरपश्चिमलाई उत्साहित गरेकी थिइन्।