एजेन्सी । सुन्दर देखिन छालाको सही स्याहार अत्यन्तै महत्वपूर्ण हुन्छ । छालाको सही हेरचाहको कमीले विभिन्न समस्या उत्पन्न हुन सक्छ । चाहे चिसो होस् या तातो, मौसम अनुसार छालाको स्याहार गर्नु जरुरी हुन्छ ।
चिसो मौसममा तापक्रमको गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या सामान्य हो । यस्तो अवस्थामा मौसमी फलफूल जस्तै सुन्तला, स्ट्रबेरी, स्याउ, बदाम, ओखर र एप्रिकट खाँदा छालामा चमक आउँछ ।
चिसोमा घाम ताप्ने बानी सबैलाई हुन्छ । तर, लामो समयसम्म घाम ताप्दा छालामा चायाँ, पोतो बढ्ने समस्या हुन सक्छ । घाम ताप्दा अनुहार छोपेर बस्नु राम्रो हुन्छ । छालालाई नरम र स्वस्थ राख्न नुहाएपछि मस्चराइजर लगाउनु अनिवार्य छ ।

नुहाएलगत्तै पूरै शरीरमा मस्चराइजर लगाउनुका साथै छालामा रुखोपन देखिएमा फेरि मस्चराइजर प्रयोग गर्नुपर्छ । ऊनी वा अत्यधिक तातो कपडाले छालामा चिलाउने समस्या ल्याउन सक्छ । यसलाई रोक्न भित्रीतर्फ कटनको लुगा लगाउनु राम्रो हुन्छ । यसले छालालाई चिलाउने र एलर्जीबाट बचाउँछ ।
साथै, मह र दहीको मिश्रणले छालालाई नरम बनाउने राम्रो घरेलु उपाय हो । मिश्रण छालामा लगाएर सुकाएपछि नुहाउँदा छालाको नरमता बढ्छ । घ्यूको पसनले पनि छालाको रुखोपन हटाउन मद्दत गर्छ । चिसोमा मनतातो पानी उपयुक्त मानिएपनि धेरै तातो पानीले छालाको कोमलतामा असर गर्छ ।
स्वास्थ्य र छालाका लागि मनतातो पानी राम्रो विकल्प हो । साबुन प्रयोग गर्दा केमिकलयुक्त साबुनको सट्टा घ्युकुमारी र निमबाट बनेको साबुन प्रयोग गर्न सकिन्छ । यस्तो साबुनले छालालाई स्वस्थ राख्न सहयोग गर्छ ।





