एजेन्सी । दक्षिण भारतीय कलाकार नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले बुधबार विवाह गरेका हुन् ।
विवाह समारोहमा दुवै परिवार र नजिकका साथीभाइहरूको उपस्थिती थियो । अभिनेता नागा चैतन्यका पिता अक्किनेनी नागार्जुनले सामाजिक सञ्जालमा तस्वीरहरू सेयर गर्दै खुसी व्यक्त गरे र बधाई दिएका छन् ।
उनले लेखेका छन्, “शोभिता र चाई (नागा) ले यस सुन्दर अध्यायलाई सँगै शुरु गरेको देख्नु मेरो लागि विशेष र भावनात्मक क्षण हो । बधाई छ मेरी प्यारी चाई र परिवारमा स्वागत छ, प्रिय शोभिता । तिमीले पहिले नै हाम्रो जीवनमा धेरै खुसी ल्याइसकेका छौ ।”
विवाह समारोह हैदरावादस्थित अन्नपूर्ण स्टुडियोमा भएको थियो, जहाँ राम चरण, नयनतारा, जुनियर एनटीआर, अल्लु अर्जुन जस्ता चर्चित स्टारहरू पनि उपस्थित थिए ।
अन्नपूर्ण स्टुडियो नागाका हजुरबुवा अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा स्थापना गरेका थिए, र यहीँ नागा र शोभिताको पहिलो भेट भएको थियो । यसअघि, नागा र शोभिताले अगस्ट महिनामा इन्गेजमेन्ट गरेका थिए ।






