काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदै छ ।
त्रेतायुगमा आजकै दिन अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।
पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । आज विवाह गर्न साइत नचाहिने मान्यता समेत छ ।





