अष्ट्रेलियन नर्सिङ एण्ड मिडवाइफरी फेडेरेसन (ए. एन. एम. एफ.) र राज्य सरकार बीचको सैद्धान्तिक तलब सम्झौता सकारात्मक निर्णयमा पुगे पछी केही दिन देखि बन्द अस्पतालका बेडहरू खोलिएका छन् ।युनियनले चार मध्ये एक बेड बन्द गरेको थियो र बिरोधका रुपमा आकस्मिक सेवा बाहेकको वैकल्पिक शल्यक्रिया स्थगित गरेको थियो।
ए. एन. एम. एफ. भिक्टोरियन शाखा सचिव लिसा फिट्जप्याट्रिकले नयाँ सम्झौतामा सुधारिएको ज्याला, भत्ता र सर्तहरू रहेको खुलासा गरेकी छन् ।
सम्झौता भए पनि, नर्सहरूले युनियन टी-सर्ट लगाउने, ओभरटाइम अस्वीकार गर्ने, कागजी कार्य पूरा नगर्ने जस्ता औद्योगिक कार्यहरू प्रतिको संकेतात्मक बिरोध भने जारी राख्नेछन्।नर्स र मिडवाइफहरूको हक , हित र सुबिधा सुनिश्चत गर्न यो सम्झौता सफल भएको भन्दै राज्य सरकारले सन्तुष्टि व्यक्त गरेको छ।यसैबीच, एम्बुलेन्स युनियनले पनि सरकारसँग आफ्नो माग अघि सारेको छ र यस बिषयमा वार्ता जारी राखेको छ, सकारात्मक परिणाम नआए छिट्टै बिरोधका कार्यक्रमहरुको घोषणा गर्न सक्ने श्रोतले जनाएको छ ।