अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश

अस्ट्रेलियाको संसदको तल्लो सदनमा एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । यो विधेयक बिहीबार पेस भएको हो । यदि यो विधेयक स्वीकृत हुन्छ भने, एक्स, टिकटक, फेसबुक, र इन्टाग्रामजस्ता सामाजिक सञ्जाल बालबालिकाका लागि बन्देजमा पर्नेछन्।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले नयाँ कानूनले बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, “यो कानूनले बालबालिकाको सुरक्षाका लागि एक स्पष्ट दिशानिर्देश तय गर्नेछ।”

१७ पृष्ठ लामो प्रस्तावित विधेयक अर्को हप्ता सिनेटमा छलफलका लागि प्रस्तुत गरिने तयारी भइरहेको छ। बीबीसीका अनुसार, अस्ट्रेलियाका धेरै अभिभावकले यस कदमलाई सकारात्मक ठानेका छन् र समर्थन जनाएका छन्।

तर, विज्ञहरूले भने यस कदमको प्रभावकारिता र व्यवहारिकतामाथि प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा, बालबालिकालाई सामाजिक सञ्जालबाट पूर्ण रूपमा टाढा राख्नु चुनौतीपूर्ण हुन सक्छ। विधेयकले वास्तविक रूपमा कत्तिको प्रभावकारी परिणाम ल्याउनेछ भन्नेमा चासो व्यक्त गरिएको छ।