फिल्म ‘पूर्णबहादुरको सारङ्गी’माथि कथा चोरिएको आरोप, निर्माता भन्छन्- केवल संयोग

काठमाडौं । लेखक शिवशंकर बस्यालले फिल्म ‘पूर्णबहादुरको सारंगी’ उपन्यास ‘संग्रामपुर’बाट कथावस्तुमा गहिरो प्रभाव परेको दाबी गरेका छन्। फिल्ममा रहेका १० कथावस्तुका प्रसंगहरू उपन्याससँग मिलेको र यो संयोगमात्र नभई नियोजित मिलन भएको टिप्पणी उनको छ। उनले ‘पूर्णबहादुरको सारंगी’ फिल्मको कथामा उपन्यासका प्लटहरू मात्र नभई, पात्रहरूको विकास र विभिन्न घटनाक्रमसम्म मिलेको पाइएको बताएका छन्।

उपन्यास र फिल्मका मिल्दोजुल्दो प्रसंगहरू

बस्यालका अनुसार ‘पूर्णबहादुरको सारंगी’ फिल्म र ‘संग्रामपुर’ उपन्यासका केही समानता यस्ता छन्:

१) फिल्मका दुई प्रमुख पात्र, पूर्णबहादुर र कमल, उपन्यास ‘संग्रामपुर’का रूपमान र समीरसँग मेल खान्छन्।

२) फिल्ममा पूर्णबहादुरको स्त्रीबिछोडको रहस्यमय प्रसंग उपन्यासमा रूपमानको स्त्रीबिछोडसँग समान रहेको छ।

३) पूर्णबहादुरले आफ्नो छोराको पालनपोषणमा गरेको समर्पण रूपमानको शैलीसँग मिल्दो देखिन्छ।

४) आमाको रहस्यमय कथा बारे कमलले पटक–पटक सोधेको प्रसंग उपन्यासमा रूपमानलाई समीरले बारम्बार सोधेको प्रसंगसँग मिल्छ।

५) कमललाई समाजको निम्न जात भन्दै अपमान गरिएको दृश्य पनि संग्रामपुरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले रूपमान र उनका परिवारलाई गरेको अपमानसँग मिल्दो देखिन्छ।

६) कमल र समीर दुवै टप विद्यार्थी भएका प्रसंग, अनि टप हुने खबर बाबुलाई बताउने शैली पनि मिलेको बस्यालले उल्लेख गरेका छन्।

७) संग्रामपुरको समीरले मेडिकल पढ्न जाने प्रसंग र आर्थिक कठिनाईको कारण नजान खोजेको कुरो, कमलको कथासँग मेल खाएको बताइएको छ।

८) रूपमानले समीरलाई जबर्जस्ती मेडिकल पढ्न पठाएजस्तै, पूर्णबहादुरले पनि कमललाई मेडिकल पढ्न पठाएको देखाइएको छ।

बस्यालले फिल्मको परिवेशदेखि लिएर बाबुछोराको सम्बन्ध र पात्रहरूको विकासमा समेत ‘संग्रामपुर’ उपन्यासको प्रभाव रहेको आरोप लगाएका छन्। उनले भने, “फिल्मको कथा उपन्याससँग यति गहिरो रूपमा मिल्नु संयोग नभई नियोजित भएको हो।” तर, फिल्मको सफलताको कामना पनि गरेका छन्।

निर्माता पौडेलको खण्डन

फिल्मका निर्माता विनोद पौडेलले यी दाबीलाई अस्वीकार गरेका छन्। उनले ‘पूर्णबहादुरको सारंगी’को कथावस्तु संयोगवश मिल्न गएको उल्लेख गर्दै, फिल्मका सबै दर्शकलाई समेट्ने विषयवस्तु भएको बताए। पौडेलले भने, “फिल्म सबैको जीवनसँग जोडिएको छ र यसले धेरैको मन जितेको छ। कथामा यस्ता मिल्ने बुँदा धेरै फिल्ममा पाइन्छन्।”

पौडेलले आरोपहरूको आधारमा चलखेल भएको हुनसक्ने संकेत गर्दै, फिल्म निर्माणको क्रममा उनले स्क्रिप्ट लेखनबाटै संलग्न रहेको बताए। उनले लेखक बस्याललाई प्रतिलिपि अधिकारको प्रावधान अनुसार कानुनी चुनौती दिन आग्रह पनि गरेका छन्।

फिल्म ‘पूर्णबहादुरको सारंगी’लाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने महेश दवाडीले पटकथा तथा संवाद लेखेका हुन्।