एजेन्सी । अस्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्याण्डले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्यु झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ। अध्ययनले सन् २०५० मा क्यान्सरका कारण वार्षिक १ करोड ८५ लाख जनाको मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ मा ९७ लाख रहेको आँकडासँग तुलना गर्दा ८९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
यो अध्ययन युनिभर्सिटी अफ क्विन्सल्याण्डका प्रमुख अनुसन्धानकर्ता हब्तामु बिजुआयेहुको नेतृत्वमा गरिएको थियो, जसले १८५ देशमा ३६ प्रकारका क्यान्सरका केसहरूको विश्लेषण गरेका छन्। अध्ययनमा संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानलाई आधार बनाएर भविष्यको क्यान्सर संक्रमण र मृत्युदरको प्रक्षेपण गरिएको हो।
अध्ययनले देखाएको छ कि सन् २०५० सम्ममा विश्वभर ३ करोड ५३ लाख क्यान्सरका नयाँ केसहरू हुनेछन्, जुन सन् २०२२ मा २ करोड रहेको तथ्याङ्कभन्दा धेरै उच्च हो। क्यान्सरका कारण हुने मृत्यु दर विशेषगरी फोक्सोको क्यान्सरका कारण बढी हुने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो। यो वृद्धिमा जनसङ्ख्यामा भएको वृद्धिको साथसाथै पर्यावरणीय जोखिम र तम्बाकुजन्य उत्पादनहरूको प्रयोग मुख्य कारण देखाइएको छ
अध्ययनले यो पनि देखाएको छ कि महिलाहरूको तुलनामा पुरुषहरूमा क्यान्सरका केसहरू र मृत्युको दर केही उच्च हुनेछ, जसको कारण प्रायः जोखिमपूर्ण बानी, कम स्वास्थ्य परीक्षणमा सहभागिता, र उपचारमा कमी भएको हो। विशेषगरी मानव विकास सूचकाङ्कमा कम स्थान पाएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका कारण मृत्यु दर तीन गुणा बढी हुने सम्भावना रहेको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य र नीति निर्माणमा सुधार गरी कम विकसित देशहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउन आवश्यक रहेको निष्कर्षमा अनुसन्धानले जोड दिएको छ।