यस वर्ष तिहार पर्वका अवसरमा नेपालमा सुनको माग र मूल्यमा ऐतिहासिक वृद्धि भएको छ। धनतेरसको दिनमा मात्रै ३५ देखि ४० किलोग्राम सुन बिक्री भएको अनुमान गरिएको छ। सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइलीका अनुसार, धनतेरसको दिनमा मात्रै ५० देखि ६० करोड रुपैयाँ बराबरको सुन बिक्री भएको छ, जसले नेपाली बजारमा सुनको माग र यसको आर्थिक महत्वलाई पुनः एकपटक उजागर गरेको छ।
नेपालमा सुनको मूल्यमा वृद्धि
हाल नेपालमा प्रतितोला सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भएका अस्थिरता, विशेषगरी मध्यपूर्वमा भइरहेको राजनीतिक अस्थिरता र अमेरिकी निर्वाचन पश्चातको आर्थिक अनिश्चितताले सुनको मूल्यमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ। साथै, अमेरिकाले ब्याजदर घटाउँदा र डलरमा अस्थिरता आउँदा सुनको मूल्य बढ्ने गरेको देखिन्छ।
सुन आयातको स्रोत र गुणस्तर
नेपालमा आयात गरिने सुन मुख्यतः संयुक्त अरब इमिरेट्स (यूएई) बाट आउने गरेको छ। राष्ट्र ब्याङ्कका सूचना अधिकारी भागवत आचार्यका अनुसार, नेपालमा आयात हुने ९० प्रतिशत सुन यूएईबाट आउँछ। “दुबईबाट सुन आउने मुख्य माध्यम हो, केही मात्रा स्वीट्जरल्यान्ड, हङकङ र सिङ्गापुरबाट पनि आयात हुन्छ,” आचार्यले बताए। चीन विश्वको सबैभन्दा ठूलो सुन उत्पादनकर्ता भए पनि नेपालमा सुनको प्रमुख आपूर्तिकर्ता भने यूएई नै हो।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार आयात हुने सुनमा ९९.९९ प्रतिशत शुद्धताको अन्तर्राष्ट्रिय छाप हुन्छ। राष्ट्र ब्याङ्कले वाणिज्य बैंकलाई मात्र छापावाल सुन आयात गर्न अनुमति दिएको हुँदा यसमा गुणस्तरको विश्वास रहन्छ। सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले पनि नेपालमा औपचारिक माध्यमबाट आउने सुन उच्च गुणस्तरको हुने बताएका छन्।

तर अनौपचारिक वा तस्करीमार्फत आउने सुन चाहिँ कम गुणस्तरको हुने गरेको देखिन्छ। भारतमा सुनको मूल्य नेपालभन्दा कम हुँदा भारतबाट गैरकानुनी माध्यमबाट सुन भित्रिने गरेको बताइन्छ।
अवैध सुन आयात र सरकारी नीति
नेपाल राष्ट्र बैंकले देशको आर्थिक अवस्थालाई ध्यानमा राख्दै सुन आयात सम्बन्धी नीतिहरू बनाउने गरेको छ। हाल नेपालमा दैनिक २० किलोग्राम सुन आयात गर्न अनुमति छ। तर तिहार, दशैँ, छठ, र विवाह सिजनका समयमा सुनको माग उच्च हुने भएकाले दैनिक ३० किलोग्रामसम्म सुनको खपत हुने गरेको देखिन्छ। नियमित समयमा १०-१२ किलोग्राम सुनको माग भए पनि मुख्य चाडपर्व र विवाहको समयमा यो परिमाण बढ्ने व्यवसायीहरू बताउँछन्।
साथै, सरकारले विदेशबाट फर्किने नेपालीहरूले २५ देखि ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने व्यवस्था गरेको छ। यस्तो सुविधा हुने भए पनि समय-समयमा भन्सार कार्यालय र सुरक्षा निकायले तस्करीमार्फत भित्र्याइएको ठूलो परिमाणमा सुन बरामद गर्ने गरेका छन्।
सुन किन्दा ध्यान दिनुपर्ने विषय
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र सुनका गरगहना किन्दा उपभोक्ताहरूले यसको गुणस्तरमा चनाखो हुनुपर्छ।
“आफूले कति क्यारेटको सुन किन्दैछु भनेर राम्रोसँग पहिचान गर्नुपर्छ। विशेष गरी २२ क्यारेटको किन्दा बढी ध्यान दिनुपर्छ। हेर्दा ९९.९९ नै देखिए पनि जलप लगाएको हुनसक्छ। रसायन छ छैन राम्रोसँग बुझ्नुपर्छ,” अध्यक्ष रसाइली भन्छन्।
उनी सुनचाँदी व्यवसायी महासङ्घ, रत्न तथा आभूषण महासङ्घ र हस्तकला महासङ्घको प्रमाणपत्र भएका पसलहरूमा सुनचाँदी व्यवसायी महासङ्घले निकालेको दरभाउ र ज्याला दर पनि राख्ने गरिएका कारण उपभोक्ता ठगिने जोखिम कम हुने बताउँछन्।
ढक तराजुमा पनि नापतौल तथा गुणस्तर विभागको स्टिकर लगाए नलगाएको र व्यवसायको पान नम्बर वा कर प्रमाणपत्र भए नभएको कुरा पनि उपभोक्ताले ध्यान दिनुपर्ने उनी बताउँछन्।
आधिकारिक व्यवसायीबाट खरिद गरिएका गहना बेच्नु पर्दा पनि अधिकतम दाम लिन सकिने रसाइली बताउँछन्।
“अहिले सुनका गरगहना सफाइ गरिदिन्छौँ भन्दै घरघरमा डुल्ने समूहसँग सचेत रहनुपर्ने अवस्था छ। गहना सफाइ गर्नुपरे पनि सुन चाँदी व्यवसाय सम्बन्धी दर्ता भएका पसलहरूमै गर्दा उपभोक्ता ठगिने जोखिम कम हुन्छ,” उनले भने।





