एजेन्सी । हाल डिजिटल उपकरणहरूमा राति अबेरसम्म समय बिताउने प्रवृत्ति तीव्र रुपमा बढिरहेको छ, जसका कारण मानिसहरूको निद्रामा गम्भीर असर देखिएको छ। आधुनिक जीवनशैलीसँगै युवा पुस्तामा यो समस्या गहिरो हुँदै गएको छ। विशेषगरी १८ देखि २५ वर्ष उमेर समूहका मानिसहरूमा डिजिटल प्लेटफर्महरूमा झुण्डिने र कामको व्यस्तताले गर्दा उनीहरूको निद्रा नियमित पूरा हुन नसकेको चिकित्सकहरूले बताएका छन्।
चिकित्सकहरूका अनुसार, शारीरिक र मानसिक स्वास्थ्यको लागि दैनिक कम्तीमा ८ घण्टाको निद्रा अत्यावश्यक हुन्छ। यस उमेर समूहका व्यक्तिहरूलाई ७ देखि ९ घण्टा सुत्न सिफारिस गरिए पनि डिजिटल उपकरणमा बिताएको समयले उनीहरूको निद्रामा गम्भीर असर पुर्याइरहेको छ। राति ढिलो सुत्नाले शरीरको बायोलोजिकल घडी प्रभावित हुन्छ, जसले मानिसको सुत्ने र उठ्ने नियमिततालाई तोड्छ।निद्राको कमीले स्वास्थ्यमा नकारात्मक प्रभाव पुर्याउने जोखिम चिकित्सकीय रूपमा प्रमाणित भइसकेको छ। निद्रा नपुग्दा उच्च रक्तचापको समस्या सबभन्दा प्रमुख देखिएको छ, जसले मुटुको रोग, मस्तिष्कघात, मधुमेह र मृगौलासम्बन्धी समस्या उत्पन्न गराउन सक्छ। यी रोगहरू दीर्घकालीन रूपमा स्वास्थ्यमा प्रतिकूल असर पुर्याउँछन्, जसले व्यक्तिको दैनिक जीवनलाई समेत प्रभावित बनाउँछ।
चिकित्सकहरूका अनुसार, निद्राको अभावले मानसिक तनावसमेत बढाउँछ। अनिँदो बस्दा मस्तिष्कले पर्याप्त आराम नपाउँदा तनावको स्तर उच्च हुने गर्छ, जसले मानसिक स्वास्थ्यमा समस्या उत्पन्न गराउँछ। यसबाहेक, थकान र तनावले गर्दा मानिसहरू नियमित खानपान र शारीरिक व्यायाममा ध्यान दिन पनि नसक्ने अवस्था सिर्जना हुन्छ, जसले स्थिति झन् जटिल बनाउँछ।निद्राको कमीले पुरुषको यौन स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ। ढिलो सुत्नाले शुक्रकिटको मात्रामा कमी आउँछ र यसको आयु पनि घट्ने चिकित्सकहरूको निष्कर्ष छ। साथै, शरीरमा एन्टीस्पर्म एन्टीबडीको स्तर बढ्छ, जुन एक प्रकारको प्रोटिन हो। यसले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर पार्छ र शुक्रकिटलाई नष्ट गर्न सक्छ। यो समस्याले दीर्घकालमा यौन स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ।

अनिँदो बस्दा शरीरमा हर्मोनको सन्तुलन बिग्रन्छ। हर्मोनको गडबडले मधुमेहको खतरा बढ्ने चिकित्सकहरूले जनाएका छन्। निद्रा नपुग्दा स्लीप एप्निया (निद्रामा सास रोकिने) समस्या पनि देखापर्न सक्छ। यस्तो समस्या दीर्घकालीन भएमा, निद्रामा सास रोकिएर मृत्युको खतरा समेत रहन्छ।अनिँदो बस्ने मानिसहरूको शरीरमा रोगसँग लड्ने क्षमतामा कमी आउँछ। निद्रा नपुग्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर भई भाइरस, ब्याक्टेरिया र अन्य संक्रमणको जोखिम उच्च हुने चिकित्सकहरूको भनाइ छ। लामो समयसम्म यस्तो अवस्था रहिरहेमा मानिसहरूमा गम्भीर रोगहरू लाग्ने सम्भावना बढ्छ।स्वास्थ्य विशेषज्ञहरूले राति समयमा सुत्ने र डिजिटल उपकरणहरूको प्रयोगलाई सीमित राख्न सुझाव दिएका छन्। नियमित निद्राले शरीरलाई पुन: ऊर्जावान बनाउन र मानसिक तथा शारीरिक स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत पुर्याउने भएकाले निद्रा व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ।





