स्पाइडरम्यानको चौथो सिक्वेलको तयारी

हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’को आगामी सिक्वेललाई लिएर विश्वभरका दर्शकहरूले प्रतीक्षा गरिरहेका बेला अभिनेता टम हल्याण्डले फिल्मको स्क्रिप्ट पढ्न सुरु गरेका छन्। हल्याण्डले आफ्नो अन्तर्वार्तामा नयाँ फिल्मको स्क्रिप्टको पहिलो ड्राफ्टमा काम भइरहेको जानकारी दिएका छन्, जसको आधारमा उनी फेरि चौथो पटक स्पाइडरम्यानको भूमिकामा देखिने पक्का भएको छ।

प्रख्यात पडकास्ट ‘रिच रोल’लाई दिएको अन्तर्वार्तामा हल्याण्डले भने, “लेखकहरू हाल निकै राम्रो काम गरिरहेका छन्। मसँग जुन ड्राफ्ट छ, त्यो उत्कृष्ट छ। अझै केही काम गर्न बाँकी छ, तर यो परियोजना वास्तवमै प्रशंसनीय हुनेछ।”

अभिनेत्री जेन्डायासँग मिलेर स्क्रिप्ट पढिरहेको समाचार ‘भेराइटी’ म्यागजिनले सार्वजनिक गरेको छ। हल्याण्ड र जेन्डाया दुवै मार्वल सिनेम्याटिक युनिभर्समा महत्वपूर्ण पात्रका रूपमा परिचित छन्, जहाँ जेन्डायाले एमजेको भूमिका निभाउँदै आएकी छन्।

फिल्मको निर्देशनको जिम्मा यस पटक ‘साङ् ची एन्ड द लिजेन्ड अफ द टेन रिङ्स’का निर्देशक डेस्टिन डेनियल क्रेटनले लिनेछन्, जसले यसअघि नै निर्देशन गर्न लागेको पुष्टि भैसकेको छ। हल्याण्डको अघिल्ला तीन स्पाइडरम्यान फिल्महरू भने जोन वाट्सले निर्देशन गरेका थिए।

फिल्मको निर्माण प्रक्रियाबारे टिप्पणी गर्दै हल्याण्डले भने, “मार्वलसँग काम गर्नु भनेको एउटा ठुलो मेसिनमा सानो पेचकस राखेजस्तो हो। यो मेसिन निरन्तर चलिरहनु आवश्यक छ, र हामीले सहि समयमा सहि फाइदा लिने कुरामा ध्यान दिनुपर्छ।”

हल्याण्ड यसअघि सन् २०१७ को ‘स्पाइडरम्यान: होमकमिङ’, २०१९ को ‘स्पाइडरम्यान: फार फ्राम होम’ र २०२१ को ‘स्पाइडरम्यान: नो वे होम’मा मुख्य भूमिका निभाइसकेका छन्। यस्तै, उनले मार्वलको ब्लकबस्टर ‘एभेन्जर्स: एण्डगेम’मा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।

यो नयाँ सिक्वेलले हल्याण्डलाई चौथो पटक स्पाइडरम्यानको रूपमा पर्दामा फर्काउनेछ, जसले प्रशंसकहरूमा उत्साह थप्ने अनुमान गरिएको छ।