ग्रान्ड प्रेरि स्टेडियममा सोमबार भएको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि आसिफ शेखले ५८ र कुशल मल्लले अविजित ४४ रन बनाए। आसिफले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
यस्तै, कुशल भूर्तेलले अविजित ४० र अनिल साहले १३ रन बनाए। अमेरिकाका लागि जसदीप सिंह र जुआनोय ड्रिसडेलले १ १ विकेट लिए।
पहिले ब्याटिङ गरेको अमेरिकाले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ र मिलिन्द कुमारले ४३ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले १ १ विकेट लिए।

आसिफ शेख प्लेयर अफ द म्याच घोषित भए। सिरिजमा ५ विकेट लिएका सोमपाल कामी भने प्लेयर अफ द सिरिज बने ।
३ खेलको टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो ।
अब कात्तिक ९ गतेबाट सुरु हुने विश्वकप क्रिकेट लिग २ मा नेपालले अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ ।




