नेपालले आइतबार बिहान डलासमा सम्पन्न दोस्रो टी२० खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ। यस रोमाञ्चक जितसँगै नेपालले सिरिज जित्न सफल भएको हो।
निर्धारित २० ओभरमा दुवै टोलीले समान १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। अमेरिकाले सुपर ओभरमा मात्र २ रन बनाउन सक्यो, जसमा तीव्र गतिका बलर सोमपाल कामीले २ विकेट लिएका थिए। सोमपालको उत्कृष्ट प्रदर्शनले नेपाललाई जितको ढोका खोल्यो।

नेपालले सुपर ओभरमा कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलको संयोजनमा आवश्यक ३ रन बनाउँदै खेल आफ्नो पक्षमा पारे। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो, जसमा कुशल भुर्तेलले अविजित ९२ रनको महत्वपूर्ण योगदान दिएका थिए। उनी खेलको ‘प्लेअर अफ दि म्याच’ पनि घोषित भए।
अमेरिकाका लागि आन्द्रे गौसले ६२ रनको योगदान दिएका थिए, तर उनको प्रयास जितको लागि पर्याप्त भएन।