को हुन लरेन्स बिश्नोई ?

राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) का नेता तथा महाराष्ट्रको राजनीतिमा चर्चित बाबा सिद्दिकी (६६) को शनिबार राति गोली प्रहारबाट हत्या गरिएको थियो । लामो समयसम्म कंग्रेससँग आबद्ध रहेका सिद्दिकी सन् २००४ देखि २००८ सम्म महाराष्ट्रको कंग्रेस–एनसीपी सरकारमा राज्यमन्त्रीको जिम्मेवारीमा थिए। बाबा सिद्दिकीले शाहरुख खान र सलमान खानबीचको मनमुटाव मेटाएको कारणले पनि चर्चा कमाएका थिए। मुम्बई प्रहरीले सिद्दिकीको हत्यामा तीन शूटरको संलग्नता पुष्टि गरेको छ। ती शूटरहरू लरेन्स बिश्नोई गिरोहसँग आबद्ध रहेको बताइएको छ।

लरेन्स बिश्नोई को हुन्?

‘जब म पहिलो पटक जेल गएको थिएँ, म विद्यार्थी थिएँ। तर जेलभित्रै ‘गुन्डा’ बन्न पुगें। मेरो दाजुभाइको हत्या भएको थियो, र हामीले त्यसको प्रतिशोध मात्रै लिएका थियौँ। मान्छे कस्तो बन्ने हो, त्यो उसको वरिपरिको वातावरणमा भर पर्छ,’ यो भनाइ लरेन्स बिश्नोईले जेलबाट एक निजी टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा राखेका थिए।

लरेन्समाथि करिब ५० वटा आपराधिक मुद्दाहरू दर्ता छन्। प्रहरीका अनुसार धेरैजसो घटना लरेन्सले जेलमै रहँदा नियोजित गरेका हुन्। पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या योजनामा उनको संलग्नता रहेको आरोप पनि लागेको छ।

यद्यपि, पञ्जाब प्रहरीले लरेन्सले जेलबाट अन्तर्वार्ता दिएको दाबीको खण्डन गरेको छ। राजस्थान प्रहरीले पनि अन्तर्वार्ता लिएको जेल आफ्नो राज्यमा नभएको बताएको थियो।

३३ वर्षीय लरेन्स बिश्नोईमाथि हत्या, डकैती र आक्रमणजस्ता आरोपहरू छन्। यी मुद्दाहरू पञ्जाब, दिल्ली, र राजस्थानमा दर्ता भएका छन्। लरेन्सका वकिल विशाल चोपडाले भनेका छन्, ‘मेरो क्लाइन्ट निर्दोष छन्, उनले कुनै अपराध गरेका छैनन्।’

विद्यार्थी जीवनदेखि राजनीतिमा संलग्नता

मिडिया रिपोर्टहरूका अनुसार लरेन्स बिश्नोईको जन्म मिति कतिपय ठाउँमा २२ फेब्रुअरी १९९२ र कतै १२ फेब्रुअरी १९९३ भनेर उल्लेख गरिएको छ।

लरेन्सको वास्तविक नाम सतविंदर सिंह हो, तर परिवारमा उनलाई स्नेहले लरेन्स भनेर बोलाउने गरिन्थ्यो, जुन पछि प्रख्यात भयो। उनका बुबा लविन्दर सिंह हरियाणा पुलिसमा कन्स्टेबल थिए, तर पछि जागिर छोडेर खेतीमा लागेका थिए। लरेन्सले पञ्जाबको अबोहरबाट १२ कक्षासम्मको पढाइ गरेपछि २०१० मा चण्डीगढमा थप अध्ययनका लागि पुगेका थिए।

२०११ मा उनी डीएभी कलेज, चण्डीगढमा भर्ना भए, जहाँ उनी विद्यार्थी राजनीतिमा सक्रिय भए। यहीँ उनी गोल्डी बरारसँगको सम्बन्धमा जोडिएका थिए, जसले लरेन्सको गिरोहलाई विदेशबाट नियन्त्रित गर्ने बताइन्छ। २०११-२०१२ मा लरेन्सले पञ्जाब विश्वविद्यालयमा विद्यार्थी संगठन (एसओपीयू) स्थापना गरे र यसको नेतृत्व गरे।

आपराधिक मामिलाहरू

लरेन्सको आपराधिक जीवनको सुरुवात विद्यार्थी जीवनको अन्त्यतिर भयो, जब उनी हत्याको प्रयासमा संलग्न रहेको आरोपमा पहिलो मुद्दामा मुछिए। २०११-२०१२ मा उनी सहपाठी विद्यार्थी नेतामाथि गोली प्रहार गरेपछि पहिलो पटक प्रहरी रेकर्डमा उनको नाम दर्ता भयो।

लरेन्सलाई सन् २०१४ मा राजस्थानमा पहिलो पटक पक्राउ गरी भरतपुर जेल पठाइएको थियो। उनले प्रहरी हिरासतबाट भाग्ने प्रयास गरे पनि सन् २०१६ मा पुनः पक्राउ परे। २०२१ मा उनलाई महाराष्ट्रको अर्गनाइज्ड क्राइम एक्टको मुद्दामा तिहाड जेलमा सारिएको थियो।

पञ्जाब प्रहरीले लरेन्सलाई सिद्धु मूसेवालाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो। उनको गिरोहका मुख्य योजनाकार गोल्डी बरार हुन्, जसले क्यानडाबाट गिरोहको गतिविधि चलाउँछन्।

लरेन्स बिश्नोई गिरोह

लरेन्स बिश्नोईको गिरोहमा ७ सय भन्दा बढी सदस्य भएको बताइन्छ। यो गिरोह पञ्जाब, हरियाणा र राजस्थानमा सक्रिय छ। लरेन्सले आफ्नो गिरोहलाई उस्तै पीडा भएका व्यक्तिहरूको समूह भनेका छन्।

उनको गिरोहले ठुला आपराधिक घटनापछि त्यसको जिम्मेवारी लिने गरेका छन्। विभिन्न राज्यमा उनको अपराधका किस्साहरू छन्, र हाल लरेन्स बिश्नोईमाथि २२ वटा मुद्दा विचाराधीन छन् भने सातवटा मुद्दामा अनुसन्धान भइरहेको छ।