अष्ट्रेलियामा रहेका नेपाली समुदायका संघसंस्था फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का) र गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले संयुक्त रुपमा अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजीलाई नेपालमा हालै आएको बाढी र पहिरो पीडितको लागि सहयोगको अपिल गरेका छन्।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र फेन्का अध्यक्ष बम योन्जनले संयुक्त रुपमा हस्ताक्षर गरेर पठाइएको पत्रमा नेपालमा आएको बाढी र पहिरोले २ सय २८ जनाको ज्यान लिएको र ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै उद्धार, राहत र पुनस्र्थापनाको कार्यमा अष्ट्रेलियाको सहयोगको लागि अनुरोध गरिएको छ।

दुवै संस्थाले आफ्नै पहलमा बाढी पहिरो पीडितको लागि सहयोग संकलन सुरु गरिसकेका छन् भने अष्ट्रेलियाली सरकारसँग पनि सिधा सहयोगको अपिल गरेका छन्। पत्रमा सन् २०१५ मा नेपालमा गएको महाभूकम्पको बेला अष्ट्रेलियाले गरेको सहयोगको स्मरण गराउँदै यसपटक पनि विपद् व्यवस्थापनका लागि अष्ट्रेलियाको मद्दत आवश्यक रहेको उल्लेख छ।
पत्रमा अष्ट्रेलियामा बसोबास गर्ने १ लाख ५१ हजारभन्दा बढी नेपाली मूलका नागरिक र यहाँको शिक्षा प्रणालीमा अध्ययनरत ठूलो संख्यामा रहेका नेपाली विद्यार्थीहरुलाई ध्यानमा राख्दै तत्काल सहयोग प्रदान गर्न आग्रह गरिएको छ।





