वडा दसैं सुरु, आज घटस्थापना

 नेपालीहरुको प्रमुख पर्व विजयादशमी आज बिहिबारबाट सुरु भएको छ । वडा दसैंको पहिलो दिन आज घटस्थापना घरघरमा जमरा राख्ने तथा घटको स्थापना गरेर मनाईंदैछ । सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गर्ने दिन नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना हो । घटलाई सुख–समृद्धि र ऐश्वर्य दायक तथा मंगलकारी मान्ने गरिएको छ ।

यसरी स्थापना गर्ने घटको मुखमा भगवान विष्णु, गलामा रुद्र एवम् महादेव, मूलमा ब्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ । नवरात्रिको समयमा ब्रह्माण्डमा उपस्थित शक्तिहरुको घटमा आह्वान गरेर उनीहरुलाई कार्यरत गर्ने गरिएको छ । यो घटको पूजा गर्नुले घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ ।

त्बयसैगरी डादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।