अस्ट्रेलियाको औसत वार्षिक तलब पहिलो पटक $100,000 पुगेको छ। अस्ट्रेलियाको तथ्यांक विभागले प्रकाशित गरेको विवरणअनुसार, मे २०२४ सम्म अस्ट्रेलियामा औसत साप्ताहिक तलब $1923.40 रहेको छ। सरकारी सञ्चारमाध्यम एबीसीले यो तथ्यांकलाई उद्धृत गर्दै सार्वजनिक गरेको छ।
तथ्यांकअनुसार, पुरुष र महिलाबीचको तलबमा ठूलो अन्तर देखिएको छ। पुरुषहरूले साप्ताहिक औसत $2014 कमाउँदा महिलाहरूले $1780 मात्र कमाएका छन्। यो तलब मा असमानता ले अस्ट्रेलियामा अझै पनि ठूलो चुनौती थपिएको देखिन्छ ।
यद्यपि औसत वार्षिक तलब $100,000 पुगेको भए पनि, अधिकांश अस्ट्रेलियाली नागरिकहरूले वार्षिक $67,000 देखि $70,000 को बीचमा मात्र कमाइ गरिरहेका छन्। एबीसीले यो वृद्धि उच्च कमाइ गर्नेहरूको संख्यामा भएको वृद्धि र तलबको असमानताका कारण भएको बताएको छ।

विद्यार्थीहरूका लागि फरक नियम
अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई हप्तामा २४ घण्टा मात्र काम गर्न पाउने प्रावधान भएकोले उनीहरूको तलबको तथ्यांकमा समावेश गरिएको छैन। पूर्णकालीन कामदारहरूले साप्ताहिक ३८ घण्टा काम गर्न पाउँछन्, तर तलब दरमा हुने फरकका कारण आम्दानीमा घटबढ हुने गर्दछ।
खर्चको वृद्धि, बचतमा कठिनाइ
अर्थविद्हरुले औसत तलबमा भएको यो वृद्धि दैनिक उपभोग्य वस्तु र घर भाडामा भएको वृद्धि सँगसँगै भएको जनाएका छन्। यसले गर्दा सर्वसाधारणले बचत गर्न कठिनाइ भोगिरहेको जनाइएको छ। “अहिले अधिकांश आम्दानीको ठूलो हिस्सा ग्रोसरीमा खर्च भइरहेको छ,” एबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।





