सिड्नी, – अष्ट्रेलियामा भ्रमणमा रहेका नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईसँग प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले सिड्नीको पारामटामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा भट्टराईले प्रवासी नेपालीहरूसँग प्रमुख मुद्दाको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरताको विषयलाई शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

भट्टराईले वर्तमान सरकारले नेपाली कांग्रेस र एमालेको सहकार्यमा गठन भएको र मुलुकको चुनौतीहरूबाट भाग्न नपाउने स्पष्ट पार्दै, नेपालको समग्र विकासका लागि दुई दलको सहकार्य अपरिहार्य रहेको बताए।

उनले नेपालले अपनाएको राजनीतिक शासन प्रणालीलाई विश्वकै उत्कृष्ट मान्दै यसबारे टीका-टिप्पणी गर्नुको औचित्य नभएको तर्क राखे। साथै, विदेशमा कमाएको सीप, दक्षता र पूँजीलाई नेपालको विकासमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा सम्बद्ध पक्षलाई गम्भीर सोच्नुपर्ने समय आएको उल्लेख गरे।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रवासी नेपाली मञ्चका उपाध्यक्ष रमेश पाण्डे, सल्लाहकार भवानी ओली, एनएसडब्लूका वाणिज्यदूत सञ्जिव शर्मा, एनआरएनएका केन्द्रीय उपाध्यक्ष बिनोद श्रेष्ठ, पूर्व आईसीसी सदस्य निरज श्रेष्ठ, र मञ्चका अध्यक्ष केशव जोशी लगायतका वक्ताहरूले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए।





