अदिती र सिद्धार्थले ४०० वर्ष पुरानो मन्दिरमा गरे गोप्य विवाह: प्रेमबाट विवाहसम्मको यात्रा

बलिउड र दक्षिण भारतीय सिनेमा क्षेत्रका प्रसिद्ध कलाकार अदिती राव हैदरी र सिद्धार्थले हालै गोप्य विवाह गरेका छन्। यो जोडीले वानापर्थीको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा सादगीपूर्ण रूपमा आफ्नो विवाह सम्पन्न गरेका हुन्।

सिद्धार्थ र अदितीले विवाहका केही छविहरू सार्वजनिक गरेका छन्, जसमा उनीहरूले एकअर्काप्रति मनमोहक सन्देशहरू पनि लेखेका छन्। अदितीले सिद्धार्थलाई आफ्नो ‘चन्द्रमा, सूर्य र तारा’ भनेर सम्बोधन गर्दै सधैं हाँस्ने र सँगै रहनको शुभकामना व्यक्त गरेकी छिन्। यस सन्देशसँगै उनले ‘मिसेज एण्ड मिस्टर अद्दु–सिद्धु’ भन्दै आफ्नो नयाँ जीवनको शुरुवातको घोषणा पनि गरेकी छिन्।

यो जोडीको सम्बन्ध सन् २०२१ मा तमिल-तेलुगु फिल्म ‘महासमुद्रम’को सुटिङबाट शुरु भएको थियो। फिल्ममा एकअर्कासँगको सम्वन्धले उनीहरूलाई निकट बनायो। सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता बलिउड फिल्महरूमा काम गरेका छन् भने अदिती राव हैदरीले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता चर्चित फिल्महरूमा अभिनय गरेकी छिन्।