सिड्नीमा ५० वर्षको उमेरमा नेपाली व्यवसायी राजमान थकालीको निधन भएको छ। ७ सेप्टेम्बर शनिबार साँझ, परिवार र साथीहरूलाई राजमान थकालीको निधनको खबर प्राप्त भएको थियो।अष्ट्रेलियामा नेपाली समुदायमा सरल, सहयोगी र कर्मठ व्यक्तित्वका रूपमा चिनिएका थकाली लामो समयदेखि फोक्सोको रोगबाट पीडित थिए।
राजमान थकाली अष्ट्रेलियामा नेपाली खानाका परिकारको लोकप्रियता बढाउनमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले सन् २०११ मा सिड्नीको टाउनहलमा मुग्लान रेस्टुरेन्ट खोलेका थिए, जसले नेपाली भोजनलाई अष्ट्रेलियामा परिचित गरायो। अहिले यो रेस्टुरेन्ट र मुग्लान ग्रोसरी पसल सिड्नीका विभिन्न स्थानमा सञ्चालित छन्।
थकाली हिमाअस कन्सल्टेन्सी र मलबेरी इन्स्टिच्यूटका संचालक पनि थिए। १९९६ मा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका उनी समाजसेवामा सक्रिय रहनुका साथै खेलकुदमा पनि विशेष रुचि राख्थे। उनले सहारा क्लब अष्ट्रेलियाको संस्थापक अध्यक्षको रूपमा कार्य गर्दै नेपाली समाजलाई एकता र समन्वयको धागोमा बांध्न महत्त्वपूर्ण योगदान गरे।
नेपाल न्युज अष्ट्रेलियाले राजमान थकालीको निधनप्रति गहिरो शोक प्रकट गर्दै, शोकसंतप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछ। उनका परिवारमा उनकी पत्नी र दुई जना छोराहरू रहेका छन्।
उनको योगदान नेपाली समाजको लागि अमूल्य रहिरहनेछ र उनको सम्झना सधैं सम्मानित हुनेछ।