नेपाली फास्ट बलर अभिनाश बोहराले अष्ट्रेलियाको सिड्नीस्थित स्थानीय क्रिकेट क्लबसँग अनुबन्ध गरेका छन् । उनी इपिङ बुल्स क्रिकेट क्लबमा आवद्ध भएको क्लबको सामाजिक सञ्जालमा घोषणा गरिएको छ।बोहरा सन् २०२४–२५ को सिजनसम्म क्लबमा रहनेछन् । क्लबले सिड्नीको क्षेत्रीय क्रिकेट लिगमा प्रतिस्पर्धा गर्छ, र उनी विभिन्न स्थानीय प्रतियोगिताहरूको लागि वरिष्ठ टोलीको हिस्सा हुनेछन्।
बोहराजस्तो अन्तर्राष्ट्रिय खेलाडी पाएकोमा क्लबले खुसी व्यक्त गरेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जुनमा सम्पन्न आईसीसी टी-२० विश्वकप २०२४ मा नेपालका लागि उनी प्रमुख बलर थिए। विश्वकप खेलेपछि बोहरा अष्ट्रेलिया पुगेका थिए र पारिवारिक कारणले उनि त्यहीँ बसे । स्थानीय क्लबमा सामेल हुनाले उनको बसाइलाई थप सुविधाजनक बनाएको छ ।