राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन यही अगष्ट १६ तारिख अष्ट्रेलियाको मेलबर्न जाने भएका छन् । प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाले आयोजना गरेको पाँचौँ वार्षिक बैठकमा सहभागी हुन उनी आउँदैछन् ।
प्रवासी नेपाली एकता समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीले लिङ्देनले १७ अगष्ट शनिबार इस्टोनियाली हलमा साँझ ५ बजेदेखि ९ बजेसम्म हुने विशेष कार्यक्रममा स्थानीय नेपाली समुदायसँग अन्तरक्रिया गर्ने जानकारी दिए । कार्यक्रममा सहभागी हुनका लागि भिक्टोरियाको नेपाली समूदायका अगुवाहरुलाई आमन्त्रण गरिएको पनि उनले जानकारी दिए। लिङ्देनको साथमा राप्रपा प्रवक्ता एवं कोशी प्रदेश संसदीय समूहका नेता भक्ति सिटौला पनि रहनेछन् । मेलबर्नपछि उनी एडिलेड र सिड्नीमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।हालै राप्रपाका धेरै नेताहरूले देशको भ्रमण गरिसकेका भए पनि लिङ्देनको यो पहिलो अष्ट्रेलिया भ्रमण हो।