आइसीसीको निर्णयले नेपालको विश्वकप यात्रा सहज

काठमाडौं: आइसीसीले सन् २०२६ मा हुने आइसीसी मेन्स टि२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा थोरै परिवर्तन गरेको छ । जसअनुसार अब युरोप र अफ्रीकाबाट २-२, अमेरिकाबाट १ तथा एसिया र इएपी क्षेत्रबाट कुल ३ टोली छनोट हुनेछन् ।यसअघि एसियाबाट २ र इएपीबाट १ टोली छनोट हुने प्रावधान थियो । इस्ट एसिया प्यासिफिक (इएपी) बाट पिएनजी दावेदार थियो भने जापान र भानुआतुले कडा प्रतिस्पर्धा दिने गरेका थिए । एसियामा नेपाल, ओमान, यूएई र हङकङ दावेदार रहने गर्दथे । अब क्षेत्रीय स्तरमा छनोट खेलेपछि अन्तिम चरण छनोट भने एकसाथ हुनेछ ।यससँगै अब नेपालसँगै अन्य राष्ट्रले छनोटको सेमिफाइनलमा पराजित भएपनि विश्वकपमा पुग्न अर्को अवसर पाउने समीकरण बन्नेछ । यसले एसोसिएट क्षेत्रको बलियो मानिने नेपाल, यूएई र ओमान तीनै टोली एकसाथ विश्वकपमा छनोट हुने ढोका पनि खुलेको छ ।

महिलातर्फ पनि आइसीसीले विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाएको छ । सन् २०३० को विश्वकप देखि सहभागी टोलीलाई १२ बाट १६ पुर्याइएको छ । नेपालको महिला टोलीले हालसम्म विश्वकप खेल्न सकेको छैन ।त्यस्तै आइसीसीको बोर्ड बैठकले आफ्नो नियममा नरहेको भन्दै चिली र अमेरिकालाई १२ महिनाको समय दिएको छ । आफ्नो प्रशासन आइसीसीको नियमअनुसार नचलेको भन्दै सदस्यता कायम राख्न १२ महिनाभित्र समस्या सुल्झाउन समय दिएको हो ।