नेपाली चलचित्र ‘Elephant in the fog’ अस्ट्रेलियाको संसद् भवनमा प्रदर्शन गरिँदै

प्रतिष्ठित कान्स चलचित्र महोत्सवमा पुरस्कार जितेर अन्तर्राष्ट्रिय चर्चा कमाएको नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ अस्ट्रेलियाको संघीय संसद् भवनमा प्रदर्शन गर्ने तयारी गरिएको छ। आगामी सोमबार, अक्टोबर २६ मा राजधानी क्यानबेरास्थित संसद् भवनको थिएटरमा चलचित्रको विशेष प्रदर्शन हुने आयोजकले जनाएको छ।

अभिनाशविक्रम शाहको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहले आयोजना गर्न लागेको हो। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनसँगै नेपाल र अस्ट्रेलियाबीच सांस्कृतिक सम्बन्ध विस्तार तथा मानवीय सहायताका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

कार्यक्रममा क्यानबेरास्थित नेपाली दूतावास, फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (FeNCAA) तथा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको सहयोग रहनेछ। विशेष प्रदर्शनको व्यवस्थापन स्पिडविङ्स ग्रुप अस्ट्रेलियाले गर्नेछ।

स्पिडविङ्स ग्रुप अस्ट्रेलियाकी प्रमुख कार्यकारी निर्देशक शान्ति ढकालका अनुसार कार्यक्रममा अस्ट्रेलियाली संसद्का सदस्य, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवा, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

चलचित्र प्रदर्शनलाई मानवीय सहायतासँग समेत जोडिएको छ। कार्यक्रमस्थलमा नेपालका प्रधानमन्त्री राहत कोष र अस्ट्रेलियाको इमर्जेन्सी एक्सन एलायन्सका लागि इच्छुक सहभागीले आर्थिक योगदान गर्न सक्ने व्यवस्था मिलाइनेछ। त्यसका लागि क्यूआर कोड उपलब्ध गराउने आयोजकको तयारी छ।

आयोजक पक्षले अस्ट्रेलियाको संघीय संसद् भवनस्थित थिएटरमा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र भएको दाबी गरेको छ। संसद् भवनजस्तो महत्त्वपूर्ण स्थानमा नेपाली चलचित्र प्रस्तुत गर्ने अवसरले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कला र संस्कृतिको उपस्थितिलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

कान्समा ऐतिहासिक सफलता

‘एलिफेन्ट इन द फग’ ले सन् २०२६ को कान्स चलचित्र महोत्सवको ‘अन सर्टेन रिगार्ड’ (Un Certain Regard) विधामा जुरी पुरस्कार जितेको थियो। उक्त विधामा छनोट भएर पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली फिचर चलचित्रका रूपमा यसले इतिहास रचेको हो।

नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको सहकार्यमा निर्माण भएको चलचित्रले नेपालको एक ग्रामीण क्षेत्रमा बसोबास गर्ने किन्नर समुदायको जीवन र संघर्षलाई प्रस्तुत गरेको छ।

चलचित्रकी मुख्य पात्र पिरती समुदायकी अगुवा हुन्। आफ्नो व्यक्तिगत प्रेम र स्वतन्त्र जीवनको चाहनाबीच उनी समुदायप्रतिको जिम्मेवारी निर्वाह गरिरहेकी हुन्छिन्। सोही क्रममा समुदायकी एक सदस्य बेपत्ता भएपछि उत्पन्न परिस्थितिले उनको जीवनमा ल्याउने द्वन्द्वलाई चलचित्रले चित्रण गरेको छ।

यसअघि चलचित्र अस्ट्रेलियाको मेलबर्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन भइसकेको छ। उक्त महोत्सवमा चलचित्रलाई ‘ब्राइट होराइजन्स’ कार्यक्रमअन्तर्गत समावेश गरिएको थियो।

नोभेम्बरमा अन्य अस्ट्रेलियाली सहरमा पनि प्रदर्शनको तयारी

क्यानबेरामा हुने विशेष प्रदर्शनपछि आगामी नोभेम्बर महिनामा अस्ट्रेलियाका अन्य प्रमुख सहरहरूमा समेत चलचित्र प्रदर्शन गर्ने योजना रहेको आयोजकले जनाएको छ।

ती प्रदर्शनमार्फत नेपाली चलचित्रलाई थप दर्शकमाझ पुर्‍याउनुका साथै मानवीय सहायताका लागि आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएको छ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सफलता हासिल गर्दै आएको ‘एलिफेन्ट इन द फग’ को संसदीय परिसरमा प्रस्तावित प्रदर्शनलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच र नेपाल–अस्ट्रेलियाबीचको सांस्कृतिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

Advertisement