युरोप टुरमा १९७४ एडीको फ्रान्समा पहिलो कन्सर्ट र डेनमार्कमा १५ वर्षपछि पुनरागमन

नेपाली रक ब्यान्ड १९७४ एडी ले युरोप टुरअन्तर्गत फ्रान्स र डेनमार्कमा सांगीतिक प्रस्तुति दिएको छ। दुवै देशमा आयोजित कन्सर्टमा गरी ७ सयभन्दा बढी दर्शक सहभागी भएको ब्यान्डले जनाएको छ।

फ्रान्समा ब्यान्डले पहिलोपटक कन्सर्ट गरेको हो। पेरिसमा आयोजित कार्यक्रममा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो। ब्यान्ड सदस्य मनोज सिंहले फ्रान्सका नेपाली दर्शकमाझ पहिलोपटक प्रस्तुति दिन पाउनु विशेष अनुभव भएको बताएका छन्।

डेनमार्कमा भने १९७४ एडी करिब १५ वर्षपछि पुनः मञ्चमा उत्रिएको हो। सन् २०११ पछि त्यहाँ पुगेको ब्यान्डले चर्चित गीत ‘तिमीलाई पिरतीले बाँधौँला’ बाट कन्सर्ट सुरु गरेको थियो। गीतसँगै दर्शकले उत्साहपूर्ण साथ दिएको ब्यान्ड व्यवस्थापनले जनाएको छ।

ब्यान्ड सदस्य मनोजकुमार केसीले १५ वर्षको अवधिमा डेनमार्कको नेपाली समुदाय र सांगीतिक माहोलमा धेरै परिवर्तन आए पनि नेपाली भाषा तथा संगीतप्रतिको प्रेम उस्तै रहेको बताए। विदेशमै जन्मिएका दोस्रो पुस्ताका नेपालीसमेत कन्सर्टमा सहभागी भएर नेपाली गीतमा रमाएको देखिनु सकारात्मक पक्ष भएको उनको भनाइ छ।

ब्यान्डका संस्थापक निराकार याक्थुम्बाले विदेशमा रहेका नेपाली समुदायलाई संगीतमार्फत जोड्न पाउनु गर्वको विषय भएको बताएका छन्। विश्वका विभिन्न देशमा नेपाली समुदाय विस्तार भएसँगै नेपाली संगीतको अन्तर्राष्ट्रिय पहुँच पनि बढ्दै गएको उनको भनाइ छ।

युरोपका विभिन्न सहरमा प्रस्तुति दिइरहेको १९७४ एडीको टुरअन्तर्गत माल्टामा अगस्ट २० र बेल्जियममा अगस्ट २३ मा कन्सर्ट तय गरिएको छ।

हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह आबद्ध छन्।

Advertisement