क्यानबेरामा नेपाली नयाँ वर्ष २०८३ भव्य रूपमा मनाइने, सांस्कृतिक कार्यक्रम र आतिशबाजी मुख्य आकर्षण

अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। सनातन समाज अष्ट्रेलियाको आयोजनामा अप्रिल १४, २०२६ (बैशाख १) मा Lenox Garden, Flynn Drive, Yarralumla मा दिउँसो २ बजेदेखि राति १० बजेसम्म कार्यक्रम सञ्चालन गरिनेछ।

आयोजकका अनुसार “Nepalese New Year 2083 BS – Celebrations with Fireworks” शीर्षकमा आयोजना हुने यस कार्यक्रमलाई यस वर्ष अझ व्यवस्थित, आकर्षक र बहुआयामिक बनाइएको छ। कार्यक्रममा नेपाली समुदायका साथै अष्ट्रेलियास्थित अन्य समुदायको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र परम्परालाई झल्काउने विभिन्न प्रस्तुति समावेश गरिनेछन्। स्थानीय कलाकारहरूद्वारा लोकनृत्य, गीत–संगीत तथा बालबालिकाका विशेष प्रस्तुति रहनेछन् भने बहुसांस्कृतिक कार्यक्रममार्फत विविध समुदायको सहभागिता पनि देखाइनेछ।

यसैगरी, कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायक दीपक बज्राचार्य र The Rhythms Band को प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ। साथै, DJ Deezay को संगीतले कार्यक्रमस्थलमा उत्साह थप्ने अपेक्षा गरिएको छ। कार्यक्रम सञ्चालनका लागि अशोक ढकाल र याशुना नकर्मी होस्टका रूपमा रहने आयोजकले जनाएको छ।

बालबालिकाहरूलाई लक्षित गर्दै विद्यालय बिदाको अवसरमा म्याजिक शो, क्लाउन, फेस पेन्टिङ तथा पुरस्कारसहितका गतिविधिहरू समावेश गरिएको छ, जसले परिवारसहित सहभागी हुने वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ।

कार्यक्रमस्थलमा नेपाली परम्परागत परिकारसहित विभिन्न खाद्य स्टलहरू रहनेछन्। यसले सहभागीहरूलाई नेपाली स्वादसँग जोड्ने मात्र नभई सांस्कृतिक अनुभवसमेत प्रदान गर्ने आयोजकको भनाइ छ।

विशेष आकर्षणका रूपमा नयाँ वर्षको अवसरमा आतिशबाजी (फायरवर्क्स) समेत गरिनेछ। प्रवासमा यस प्रकारको आयोजना दुर्लभ मानिने भए पनि विगतका वर्षहरूदेखि यसको निरन्तरता कायम राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रवेश निःशुल्क राखिएको छ। विभिन्न प्रायोजक, साझेदार तथा सामुदायिक संस्थाहरूको सहकार्यमा आयोजना हुने यस कार्यक्रममा क्यानबेरा तथा आसपासका नेपाली समुदायलाई उपस्थित भई नयाँ वर्ष सामूहिक रूपमा मनाउन आयोजकले आह्वान गरेको छ।

आयोजकका अनुसार यस कार्यक्रमको उद्देश्य प्रवासमा नेपाली संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउनु र नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्नु रहेको छ।

समुदायको एकता, संस्कृति र उत्सवलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रमलाई क्यानबेरामा रहेका नेपालीहरूको प्रमुख वार्षिक उत्सवका रूपमा लिइएको छ।

Advertisement