प्रधानमन्त्री कार्की : “लोकतन्त्र जनआवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो”

spot_img

३ असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने सर्वोत्तम प्रणालीका रूपमा व्याख्या गरेकी छन्। संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा अझै खरो उत्रन नसकेको स्वीकार गरेकी छन्।

प्रधानमन्त्री कार्कीले जेन जि पुस्ताले चलाएको आन्दोलन, विगतका अपूरा प्रतिबद्धता र संघीय गणतन्त्रको अभ्यासलाई स्मरण गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष न्यायपालिका, कानूनी शासन र सुशासन जस्ता मूल्यमा कमी कमजोरी देखिएको बताइन्। उनले भनिन्, “यी क्षेत्रमा हामीले अपेक्षा गरेअनुसार खरो उत्रन नसक्नु नै हालको चुनौती हो।”

युवापुस्ताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता

प्रधानमन्त्री कार्कीले सरकार युवापुस्तासहित सबै नागरिकका आशा–अपेक्षा अनुसार काम गर्ने प्रतिबद्ध रहेको दोहोराइन्। उनले अन्तर्राष्ट्रिय स्तरमा देखिएका नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनका अभ्यासबारे जानकार नयाँ पुस्ताले रोजगारी, गुणस्तरीय जीवनस्तर, पारदर्शिता, कानूनी समानता, भ्रष्टाचार अन्त्य, सुशासन र विकासका सवालमा उठाएका आवाजलाई राष्ट्रिय एजेन्डा बनाइने स्पष्ट गरिन्।

उनले भनिन्, “यी सबै एजेन्डा यथार्थमै सबै पुस्ताका साझा अपेक्षा हुन्। जनअपेक्षा पूरा गर्न सरकार दृढ छ।”

पदलोभ नभई संक्रमणकालीन व्यवस्थापनमा जिम्मेवारी

समारोहमा प्रधानमन्त्री कार्कीले आफू कुनै पदलोभ वा शासकीय आकांक्षाले प्रधानमन्त्री नभएको प्रष्ट पारिन्। उनले परिवर्तनकामी युवा पुस्ताको आग्रहका आधारमा मात्र जिम्मेवारी स्वीकार गरेको भन्दै संविधानले तोकेको ६ महिनाभित्रै प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइन्।

उनले भनिन्, “देश संकटमा रहेको समयमा चुप लागेर बस्न नसकी, संविधानअनुसार संक्रमण व्यवस्थापन गर्दै छ महिनाभित्र जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी प्रधानमन्त्री बनेको हुँ।”

संविधान दिवसको महत्व

प्रधानमन्त्री कार्कीले संविधान दिवसलाई सबै नेपालीले गर्वका साथ मनाउने दिन भएको बताइन्। उनले यस दिनलाई केवल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन्।

उनका अनुसार संविधान दिवसले विगतका कमजोरीलाई आत्मसात् गर्दै नयाँ प्रतिबद्धता र सुधारको बाटो पहिल्याउने अवसर पनि प्रदान गर्छ।

spot_img