काठमाडौंमा ध्वनि प्रदूषण नियन्त्रण अभियान

spot_img

काठमाडौं — काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उपत्यकाभित्र बढ्दो ध्वनि प्रदूषण रोकथामका लागि विशेष सचेतना अपिल गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई दैनिक जीवनका सामान्य गतिविधिमा सचेत रहन आग्रह गरेको हो।

राति चर्को स्वरमा कुरा नगर्न आग्रह

कार्यालयले जारी गरेको सूचनामा राति अबेरसम्म फोनमा चर्को स्वरले कुरा नगर्न, बिहानै वा राति प्रेसर कुकरमा सिट्ठी नलगाउन र ध्वनि नियन्त्रण उपकरण प्रयोग नगरी गीत–संगीत अभ्यास नगर्न स्पष्ट अनुरोध गरिएको छ। प्रहरीले यस्ता कार्यले नजिकैका मानिसलाई असुविधा पुर्‍याउने मात्र नभई स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सचेत रहन आग्रह गरेको हो।

स्वास्थ्यमा गम्भीर असर

प्रहरीका अनुसार, ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले गर्भवती महिला, मुटुका बिरामी, वृद्धवृद्धा तथा बालबालिकामा यसको असर बढी पर्न सक्छ।
ध्वनि प्रदूषणले मानसिक अशान्ति, शारीरिक समस्या, शैक्षिक गतिविधिमा बाधा, सामाजिक सम्बन्धमा विचलन तथा आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने बताइएको छ। यसले नैतिक मूल्यमा समेत गिरावट ल्याउने चेतावनी प्रहरीद्वारा दिइएको छ।

थप प्रतिबन्ध र सचेतना

प्रहरीले राति अबेरसम्म उच्च आवाजमा म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम अनावश्यक रूपमा ठूलो आवाजमा नचलाउन, ढोकाको बेल बारम्बार बजाउन र बिहान नित्यकर्मका क्रममा अत्यधिक खोक्दा वा खकार्दा छिमेकीलाई असुविधा नपर्ने गरी सचेत हुन पनि अपिल गरेको छ।

जरिवाना र कानुनी व्यवस्था

ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ। यससँगै, प्रहरीले टोल–छिमेकमा यस्ता गतिविधि देखिएमा तुरुन्तै १०० वा १०३ नम्बरमा फोन गरेर जानकारी दिन नागरिकलाई आग्रह गरेको छ।

काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषणले स्वास्थ्य, सामाजिक जीवन र शान्त वातावरणमा गम्भीर असर पारिरहेको अवस्था देखिएको छ। अत्यधिक आवाजले केवल मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या सिर्जना गर्ने मात्र होइन, समुदायभित्र आपसी सम्बन्धमा तनाव ल्याउने, शिक्षण–अध्ययनमा बाधा पुर्‍याउने र सामान्य जनजीवनमा असुविधा निम्त्याउने गरेको प्रहरीको चेतावनी छ।

यस्तो परिस्थितिमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले सचेतनात्मक अपिलसँगै कानुनी कारबाही अघि बढाउने तयारीलाई गति दिएको छ। प्रहरीका अनुसार, ध्वनि प्रदूषण नियन्त्रणका लागि हालै जारी सूचनाले केवल अनुशासन कायम गर्ने उद्देश्य मात्र नभई सर्वसाधारणलाई स्वच्छ र शान्त वातावरणमा जीवनयापन गर्न मद्दत गर्ने दीर्घकालीन दृष्टिकोण पनि बोकेको छ।

spot_img