इजरायली आक्रमणमा अल जजिराका वरिष्ठ पत्रकार अनस अल–शरिफसहित पाँच पत्रकारको मृत्यु

Advertisement

गाजा सिटीस्थित अल–शिफा अस्पतालको मुख्य गेट नजिकै आइतबार (अगस्ट १०) भएको इजरायली आक्रमणमा अल जजिराका वरिष्ठ संवाददाता अनस अल–शरिफसहित पाँच जना पत्रकारको मृत्यु भएको छ।

यस आक्रमणमा सह–संवाददाता मोहम्मद कुरिकेह, क्यामराम्यान मोआमेन अलीवा, मोहम्मद नुफाल र इब्राहिम जाहेरको पनि ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतक पत्रकारहरू आक्रमणका बेला अस्पताल परिसरमा पत्रकारका लागि छुट्याइएको टेन्टभित्र रहेका थिए।

अल जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोआवादले अल–शरिफलाई गाजाको अवस्थाबारे विश्वलाई जानकारी गराउने ‘एक मात्र आवाज’ भनेर वर्णन गरेका छन्। युद्ध सुरु भएदेखि नै इजरायलले अन्तर्राष्ट्रिय पत्रकारलाई स्वतन्त्र रूपमा गाजा प्रवेश गर्न रोक लगाएको छ, जसका कारण समाचार संस्थाहरूले स्थानीय पत्रकारको रिपोर्टिङमा निर्भर रहनुपरेको छ।

मोआवादले भने, “उनीहरूलाई टेन्टमै लक्ष्य बनाइएको हो, उनीहरू फ्रन्टलाइनबाट रिपोर्टिङ गरिरहेका थिएनन्। इजरायली सरकार गाजाबाट रिपोर्ट गर्ने कुनै पनि समाचार माध्यमको आवाज बन्द गर्न चाहन्छ। आधुनिक इतिहासमा मैले यस्तो देखेको छैन।”

किन मारिए अनस अल–शरिफ?

इजरायल डिफेन्स फोर्स (IDF) ले २८ वर्षीय अल–शरिफलाई हमासको ‘आतङ्ककारी सेल’को प्रमुख भएको आरोप लगाउँदै आक्रमणको जिम्मेवारी लिएको छ। आईडीएफले टेलिग्राममार्फत भनेको छ, “केही समयअघि गाजा सिटीमा, आईडीएफले अनस अल–शरिफ नामका आतङ्ककारीलाई निशाना बनायो, जसले अल जजिरा नेटवर्कका पत्रकारको रूपमा आवरण गरेका थिए।”

तर, कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्स (CPJ) ले यस घटनाको निन्दा गर्दै इजरायलले आफ्नो दाबीको प्रमाण नदिएको आरोप लगाएको छ। सीपीजेका अनुसार, इजरायलले विगतका दशकहरूमा पनि यस्तै ढाँचामा पत्रकारहरूलाई मार्ने र पछि प्रमाण बिना आतङ्ककारीका रूपमा चित्रण गर्ने गरेको छ।

अन्तिम पोस्ट

मृत्युअघि केही क्षणअघि, अल–शरिफले एक्स (पूर्व ट्विटर) मा गाजा सिटीमा इजरायली बमबारी तीव्र भएको चेतावनी दिँदै रक्तपात रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका थिए। उनले अन्तर्राष्ट्रिय समुदायलाई ‘नरसंहारका मौन साक्षी’ भएको आरोप पनि लगाएका थिए।

spot_img