
मेलबर्न । भिक्टोरिया सरकारले Work From Home (WFH) को अधिकारलाई कानुनमा सुनिश्चित गर्ने तयारी गरेको छ। सार्वजनिक तथा निजी दुवै क्षेत्रमा लागू हुने गरी ल्याउन लागिएको यो ऐतिहासिक नीति Premier Jacinta Allan ले वार्षिक राज्य लबर सम्मेलनमा घोषणा गर्ने भएकी छिन्।
उनका अनुसार, घरबाट काम गर्ने अधिकार आधुनिक कार्यशैलीलाई मजबुत बनाउन र परिवारमैत्री वातावरणलाई संस्थागत गर्न महत्त्वपूर्ण हुनेछ। प्रस्तावित विधेयकअनुसार, यदि कर्मचारीले आफ्नो काम व्यावहारिक रूपमा घरमै गर्न सक्ने अवस्था भएमा हप्तामा दुई दिनसम्म घरबाट काम गर्ने कानुनी अधिकार माग गर्न सक्नेछन्।
Premier Allan ले भनिन्, “देशभरि Liberals ले work-from-home प्रणाली हटाएर कर्मचारीलाई कार्यालय फर्काउने योजना बनाइरहेका छन्, जसले श्रमिकलाई फेरि विगततिर धकेल्छ। त्यसैले Allan Labor सरकार अघि बढिरहेको हो। घरबाट काम गर्ने अधिकारलाई कानुनमा सुनिश्चित गर्नुको अर्थ यो जीवन–परिवर्तन गर्ने अभ्यास अब तपाईं वा तपाईंका प्रियजनले विनम्रतापूर्वक माग्नुपर्ने कुरा होइन, यो तपाईंले पाउने अधिकार हो।”

विधेयक पारित भएमा रोजगारदाताले कर्मचारीका मागलाई गम्भीर रूपमा विचार गर्नुपर्नेछ। यसले श्रमिकलाई आवागमन खर्चमा हप्तामा करिब ११० डलर, अर्थात् वार्षिक ५,३०० डलरसम्म बचत हुने अनुमान गरिएको छ। साथै यसले महिला, बालबालिका हेरचाह गर्नेहरू, अपाङ्गता भएका व्यक्ति र अन्य परिवारमुखी समूहलाई रोजगारीमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।
उता, Opposition Leader Brad Battin ले भने पार्टी work-from-home flexibility को समर्थनमा रहेको स्पष्ट पारेका छन्। उनका अनुसार, “Victorian Liberals र Nationals ले बुझ्छन् कि घरबाट काम गर्नु धेरै श्रमिक र परिवारका लागि महत्त्वपूर्ण विकल्प बनेको छ। हामी त्यस्ता कदमहरूको समर्थन गर्छौं जसले भिक्टोरियनहरूलाई राम्रो work-life balance बनाउन सहयोग गर्छ। साथै, कुनै पनि कानुनलाई हामी नजिकबाट समीक्षा गर्नेछौं ताकि यसले लचिलोपन, उत्पादकत्व र व्यक्तिगत रोजाइलाई समर्थन गरोस्।”
यसै सम्मेलनमा कर वृद्धि, super profits tax र मनोरञ्जनात्मक प्रयोजनका लागि क्यानाबिसलाई वैधानिकता दिने प्रस्तावहरू समेत छलफलमा आउनेछन्। करिब ६०० भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने वार्षिक सम्मेलनमा हुने निर्णयहरूले Premier Jacinta Allan को आगामी नीति–कार्यतालिकामा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ।
