
रूपन्देही । रूपन्देही जिल्लाको देबदह नगरपालिका १० चरङेबाट ब्राउन सुगर जस्तो देखिने अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरूमा देबदह नगरपालिका १० भलुही निवासी २४ वर्षीय सागर विक, ३१ वर्षीय हेमन्तसिंह पुन र भारत उत्तर प्रदेश सिद्धार्थनगर केरार्थ १ निवासी २५ वर्षीय प्रभुराम ओझा रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट ७४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषध बरामद गरिएको छ ।
लागूऔषध ओसार पसारमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।





