
अष्ट्रेलियामा पहिलोपटक स्वदेशमै बनेको रकेट आकाशमा उडेको केही क्षणमै दुर्घटनाग्रस्त भएको छ। उत्तर क्वीन्सल्याण्डको बोवेन क्षेत्रबाट सोमबार प्रक्षेपण गरिएको गिल्मोर स्पेस टेक्नोलोजीको ‘एरिस’ अर्बिटल रकेट करिब १४ सेकेन्ड मात्र आकाशमा उडेर ठूलो विस्फोटसहित भुइँमा खसेको बताइएको छ।
प्रक्षेपण स्थलमा उपस्थित दर्शकहरूले ठूलो आवाजसँगै कालो धुवाँको मुस्लो देखिएको बताएका छन्। यद्यपि, घटनामा कुनै मानविय क्षति नभएको प्राधिकरणले जनाएको छ।
गिल्मोर स्पेसका सह–संस्थापक एडम गिल्मोरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आफू परिणामसँग सन्तुष्ट रहेको बताएका छन्। “पक्कै म अझ लामो उडान समय चाहन्थेँ, तर पनि यसलाई खुसीसाथ स्वीकार्छु,” उनले लेखेका छन्।
कम्पनीले विज्ञप्ति जारी गर्दै यो प्रक्षेपणलाई “अष्ट्रेलियाको सार्वभौम अन्तरिक्ष क्षमतामा ठूलो प्रगतिपूर्ण कदम” भएको उल्लेख गरेको छ। यसअघि पनि गिल्मोर स्पेसले वर्षभरिका विभिन्न मौसम र प्राविधिक कारणले प्रक्षेपण प्रयास स्थगित गर्दै आएको थियो।
गोल्ड कोस्टका मेयर टम टेटले गिल्मोर स्पेसलाई बधाई दिँदै भने, “उनीहरू साँच्चिकै ताराहरूलाई छुने अभियानमा लागेका छन्। हाम्रो अर्थतन्त्र कत्तिको विविधीकरण भइसकेको छ भन्ने उत्कृष्ट उदाहरण यही हो।”
गिल्मोर स्पेस टेक्नोलोजीले आगामी दिनमा अष्ट्रेलियाबाटै वाणिज्यिक संस्थान र सरकारका लागि उपग्रह प्रक्षेपण गर्ने लक्ष्य लिएको छ। यो प्रयासलाई अष्ट्रेलियाको अन्तरिक्ष अनुसन्धान र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवातको रूपमा लिइएको छ।





