तपस्वी भनेर कुनै बेला चर्चा पाएका रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै असार १७ गते सजाय निर्धाणका लागि पेशी तोकेको हो ।
केही वर्ष सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोटमा आश्रम बनाएर बस्दा उनले बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको थियो । सोमबार त्यही मुद्दामा उनलाई दोषी ठहर गरेको हो ।
त्यस्तै, बाराको रतनपुरी जंगलमा पनि आश्रम बनाएर अनुयायी जम्मा पारेका बमजनले त्यहाँ बस्ने किशोरीहरुमाथि चरम यौन शोषण गरेको र कतिपयको हत्यासमेत गरेको आरोप लागेको छ । उनलाई गत पुसमा काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरिएको थियो ।
उनको साथबाट १५ देशका मुद्रासहित ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ नगद भेटिएको थियो । त्यहाँबाट प्रहरीले ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर विदेशी मुद्रा बरामद गरेको थियो ।
उनीसँगै आरोप लागेका मकावनपुरका ज्ञानकुमार बमजन र सिन्धुलीका जितबहादुर तामाङले सफाइ पाएका छन् । उनीहरुले बमजनको आपराधिक कार्यलाई सहयोग गरेको अभियोग थियो ।