अष्ट्रेलिया – शनिवार साँझ सम्पन्न भएको ‘संयोजक बहस २०२५’ कार्यक्रममा उठेको एउटा सरल प्रश्नले सामाजिक सञ्जाल तताएको छ। अव्युक्त मिडिया र नेपाली डायस्पोराको आयोजनामा भएको उक्त कार्यक्रममा एक दर्शकले सोधेको प्रश्न थियो —
“नारी निकुञ्जले एसीटीमा अहिलेसम्म के गर्यो? कम्तिमा ५ वटा काम बुँदागत रूपमा भन्न सक्नुहुन्छ?”
यही प्रश्नको जवाफमा नारी निकुञ्ज एसीटी की पूर्व संयोजक श्रीजना बस्नेतले उक्त फेसबुक लाइभको कमेन्ट मार्फत सार्वजनिक रूपमा आफ्नो कार्यकाल (२०१९–२०२१) का उपलब्धिहरू उल्लेख गर्दै, कठिन समयमा समेत निरन्तरता पाएको नारी नेतृत्वको भावनात्मक र प्रेरणादायी कथा प्रस्तुत गरिन्। उनी लेख्छिन् —
“त्यो समय मेरो जीवनकै सबैभन्दा चुनौतीपूर्ण मोड थियो — म गर्भवती थिएँ, महामारी थियो, तर पनि हामीले महिलाका लागि थालिएको काम रोकिन दिएनौँ।”

उनले नेतृत्व सम्हाल्दाको समय सहज थिएन। कोभिड महामारी, व्यक्तिगत मातृत्व अनुभव र सामाजिक उत्तरदायित्वले थिचेको परिस्थितिमा पनि उनले महिलाहरूलाई लक्षित गर्दै सचेतनामूलक तथा व्यवहारिक कार्यक्रमहरू सञ्चालन गरिन्, जुन आज पनि सामाजिक सञ्जालमा उदाहरणको रूपमा प्रस्तुत भइरहेका छन्।
उनको कार्यकालमा सम्पन्न प्रमुख कार्यक्रममध्ये पोष्ट-नेटल डिप्रेशन (प्रसवपछिको मानसिक अवस्था) सम्बन्धी सचेतना सत्र, घरेलु हिंसाबारे जानकारी अभियान, आत्मरक्षा तालिम, शरीर तथा मनको सन्तुलन कार्यक्रम, र नयाँ महिला विद्यार्थीहरूका लागि कफी बनाउने तालिम (बेरिस्टा) रहेका छन्। यी सबै कार्यक्रमहरू महिलाहरूको आत्मबल, आत्मनिर्भरता र सामाजिक समावेशितातर्फ उन्मुख थिए।
त्यसका अतिरिक्त, मानसिक स्वास्थ्य सत्र, योग प्रशिक्षक गुरु राजन आचार्यसँगको आत्मबल निर्माण कार्यक्रम, मनोवैज्ञानिक बिराज धितालद्वारा सञ्चालित मानसिक सत्र तथा नेपालका ग्रामीण महिलाहरूका लागि प्रोलाप्स (गर्भाशय खस्ने) सर्जरी सहयोग परियोजना पनि उल्लेखनीय छन्। महामारीको समयमा एनआरएनएले आयोजना गरेको कार्यक्रममा NariNikunja Women Forum को सहयोगमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि खाना वितरण र एसीटीमा नयाँ विद्यार्थीहरूलाई स्वागतस्वरूप खादा वितरण जस्ता कार्यहरूले नारी निकुञ्जको सेवा भाव र समुदायप्रतिको उत्तरदायित्व स्पष्ट पार्दछ।

श्रीजना बस्नेतका अनुसार, यी केही कार्यक्रमहरू मात्रै उदाहरणीय हुन्। नारी निकुञ्ज महिला मञ्च (NariNikunja Women Forum) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अझ धेरै कार्यहरू गरिसकेको छ, जुन हाल पनि निरन्तरतामा रहेका छन्।

उनको अभिव्यक्ति केवल व्यक्तिगत गर्व होइन, समग्र नेपाली महिला नेतृत्वको प्रतिबिम्ब हो। “अबको पुस्ताले नेतृत्व लिनुपर्छ। नारीलाई केवल सहभागितामा होइन, निर्णय तहमा पुग्न आवश्यक छ,” भन्ने उनको सन्देशले आजको बहसलाई नयाँ दिशा दिएको छ।
उक्त कार्यक्रममा ललित मल्ल, अभिषेक उप्रेती र बिनोद उप्रेतीसहितका उम्मेदवारहरूको सहभागिता रहेको थियो।

नेतृत्व सन्दर्भमा नारीको मौनता होइन, सक्रिय सहभागिता अब अपरिहार्य
श्रीजनाको अभिव्यक्तिले नारी नेतृत्वको गहिरो सन्देश दिएको छ। जब परिस्थिति प्रतिकूल हुन्छ, त्यही बेला नेतृत्वको वास्तविक स्वरूप उजागर हुन्छ। उनका कार्यहरूमा देखिएको निरन्तरता, समर्पण र समाधानमुखी सोचले प्रष्ट पार्छ — नेतृत्व समयले होइन, सोच र संकल्पले निर्धारण हुन्छ।




