
सिड्नी — नेपाली समुदायको खेलकुद ऊर्जा, एकता र योगदानलाई सम्मान गर्दै नेपाल भलिबल संघ अष्ट्रेलिया (NVAA) द्वारा आयोजित पहिलो Annual Awards Night 2025 शनिबार सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा भव्य रूपमा सम्पन्न भएको छ।
“Celebrating Volleyball Vibes in Sydney!” भन्ने नारासहित सम्पन्न समारोहले भलिबलको माध्यमबाट नेपाली समुदायलाई समेट्ने, प्रेरित गर्ने र सम्मानित गर्ने उद्देश्य पूरा गरेको आयोजकले जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियास्थित नेपालका पूर्व वाणिज्यदूत दीपक खड्काले अष्ट्रेलियामा नेपाली समुदायले भलिबलजस्तो लोकप्रिय खेललाई जुन शान, ऊर्जा र योजनाबद्ध रूपमा अघि बढाइरहेको छ, त्यो अत्यन्तै प्रेरणादायी रहेको बताए। उनले अष्ट्रेलियामा भलिबलको सुरुवाती विकासमा योगदान दिएका दिवंगत पत्रकार टिका कार्कीलाई श्रद्धापूर्वक सम्झिए।
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले विशेष अतिथि रूपमा सम्बोधन गर्दै खेलकुदले समुदायलाई सकारात्मक दिशामा अघि बढाउने बताउँदै यस्ता गतिविधिमा NRNA अष्ट्रेलिया सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे।
NVAA का अध्यक्ष दीपक क्षेत्रीले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रा र भावी योजनाहरूलाई प्रस्ट्याउँदै सबै सहभागीप्रति आभार प्रकट गरे। उनले भने, “यो पुरस्कार मात्र हैन, यो हाम्रो सामूहिक गर्वको प्रतीक हो।”
कार्यक्रममा NVAA उपाध्यक्ष मुक्ति रोका, सल्लाहकार विष्णु हमाल, तमु समाज सिड्नीका अध्यक्ष ह्युपति गुरुङ, ANJA अध्यक्ष कृष्ण तिवारी, डा. राजु मानन्धर, बागलुङ समाजका अध्यक्ष विकास सापकोटा, पूर्व अध्यक्ष कृष्ण सुनार तथा राष्ट्रिय भलिबल खेलाडीहरू हिमाल मल्ल, सरस्वती चौधरी र प्रतिभा माली लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
सो अवसरमा उत्कृष्ट पुरुष तथा महिला खेलाडी, प्रशिक्षक, टिम, स्वयंसेवक तथा संस्थामा विशेष योगदान गर्ने व्यक्तिहरूलाई ट्रफी र प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रमलाई नेपाली गीत, नृत्य र सांस्कृतिक प्रस्तुतीहरूले अझ मनोरञ्जनात्मक बनाएको थियो।
नेपाल भलिबल संघ अष्ट्रेलियाले २०१८ मा स्थापना भएदेखि नै नेपाली समुदायमा खेलकुद चेतना जगाउने कार्य गर्दै आएको छ। आयोजक टोलीले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ।







