स्कुल जोनमा तीव्र गति: अस्ट्रेलियाको सडकमा बालबालिकाको सुरक्षालाई चुनौती, ‘हटस्पट’ स्थानहरू सार्वजनिक

Advertisement

सिड्नी, अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य सरकारले स्कुल जोनमा तीव्र गतिमा सवारी चलाउने चालकहरूको विवरण सार्वजनिक गर्दै अभिभावक, शिक्षक र सडक प्रयोगकर्तालाई गम्भीर सन्देश दिएको छ। विद्यालय सुरु भएसँगै सरकारले स्कुल जोनमा लागू हुने ४० किमी/घण्टा गति सीमाको कडाइका साथ पालना गर्न आग्रह गरेको छ, जुन बिहान ८:०० देखि ९:३० र दिउँसो २:३० देखि ४:०० बजेसम्म लागू हुन्छ।

२०२४/२५ को आर्थिक वर्षमा मात्र १ लाख ८३ हजारभन्दा बढी स्कुल जोन स्पीडिङ उल्लङ्घन दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। तीमध्ये सबैभन्दा बढी उल्लङ्घन भएका स्थानहरू सिड्नी क्षेत्रमै रहेका छन्। तीमध्ये पश्चिम सिड्नीको चेस्टर हिलस्थित वुडभिल रोडमा सबैभन्दा बढी ८,६१५ वटा जरिवाना काटिएको छ। त्यसपछिका स्थानहरूमा क्रमशः राइडको भिक्टोरिया रोड (७,३१५), कोगराहको प्रिन्सेस हाईवे (५,८६६), यागुनाको ह्युम हाईवे (५,८६६) र मुअर पार्कको क्लिभल्याण्ड स्ट्रीट (५,३०७) रहेका छन्। साथै, क्षेत्रीय न्यू साउथ वेल्सका गेट्सहेड (लेक म्याक्वारी), वोलोंगोंग र अवरिम्बाह (सेन्ट्रल कोस्ट) मा पनि स्कुल जोन उल्लङ्घन उच्च दरमा देखिएको छ।

एनएसडब्लु सडक मन्त्री जेनी एचिसनले तीव्र गतिमा स्कुल जोनमा सवारी चलाउने चालकहरूलाई कडा चेतावनी दिँदै भन्नुभयो, “एक वर्षमा १ लाख २५ हजारभन्दा बढी चालकले सक्रिय स्कुल जोनमा गति सीमा उल्लङ्घन गरेका छन्। त्यो हरेक चालकले बालबालिकाको ज्यान जोखिममा पार्ने स्वार्थी निर्णय गरेका हुन्।” उनले थप भनिन्, “हामी सबैले उदाहरणीय व्यवहार देखाउनु पर्छ। सुरक्षा नै पहिलो प्राथमिकता हो। हामी जसरी सडक प्रयोग गर्छौं, त्यसले भविष्यका चालकहरूलाई कस्तो पाठ सिकाउँछ भन्ने निर्धारण गर्छ।”

सरकारले स्कुल जोन क्षेत्रको सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न संरचनागत सुधार तथा सचेतनामूलक कदमहरू चालिरहेको जनाएको छ। हालसम्म राज्यभर ६,८०० भन्दा बढी स्कुल जोन फ्ल्यास लाइटहरू जडान गरिएका छन् भने ९८० विद्यालयमा १,५०० भन्दा बढी स्कुल क्रसिङ सुपरभाइजरहरू नियुक्त गरिएको छ। स्कुल जोनमा गति सीमा उल्लङ्घन गरेमा $२३८ देखि $४६४३ सम्म जरिवाना लाग्न सक्छ र डिमेरिट पोइन्ट प्रणालीमार्फत चालक अनुमतिपत्रमा समेत असर पर्ने व्यवस्था छ।

अष्ट्रेलिया जस्तो विकसित राष्ट्रमा समेत स्कुल जोन नियमको व्यापक उल्लङ्घन हुनु सडक सुरक्षाप्रति हाम्रो सामूहिक चेतनामा प्रश्न उठाउने विषय बनेको छ। बालबालिका सबैभन्दा संवेदनशील सडक प्रयोगकर्ता हुन्, जसका लागि प्रत्येक नागरिकले उत्तरदायी भूमिका निर्वाह गर्नु आवश्यक छ। अब समय आएको छ—जहाँ स्कुल जोनलाई सजगता र सहानुभूतिका साथ व्यवहार गरियोस्। नियम केवल कारबाहीका लागि होइन, ज्यान जोगाउने संयन्त्रका लागि हो।

spot_img