
मेलबर्न — बालबालिकामाथि यौन दुर्व्यवहारको आरोप खेपिरहेका जोशुआ डेल ब्राउन मेलबर्नका चारवटा थप चाइल्डकेयर केन्द्रहरूमा कार्यरत रहेको नयाँ विवरण सार्वजनिक भएपछि सार्वजनिक चिन्ता झनै बढेको छ।
भिक्टोरिया प्रहरीले पुष्टि गरेअनुसार, ब्राउन सन् २०१७ देखि २०२५ को मे महिनासम्म मेलबर्नमा रहेका थुप्रै बालबालिका स्याहार केन्द्रहरूमा कार्यरत थिए। गत जुलाई १ मा अष्ट्रेलियाली संघीय सरकारले ब्राउनले कार्य गरेका २० वटा केन्द्रहरूको नामसहितको सूची सार्वजनिक गरेको थियो। तर हालै अद्यावधिक गरिएको सूचीमा उनले कम्तीमा चारवटा थप केन्द्रहरूमा पनि काम गरेको तथ्य खुलेको छ।
ब्राउनमाथि हालसम्म ८ जना नाबालकहरूलाई लक्षित गरी ७० वटा यौन अपराधसम्बन्धी अभियोग लगाइएको छ। यी अपराधहरू ‘क्रिएटिभ गार्डेन्स अर्ली लर्निङ सेन्टर’, पोइन्ट कुकमा २०२२ अप्रिलदेखि २०२३ जनवरीसम्मको अवधिमा घटेका बताइएका छन्।
सरकारद्वारा सार्वजनिक नयाँ सूची अनुसार, उनी मेलबर्नभरका विभिन्न शाखाहरूमा कार्यरत थिए र केही केन्द्रहरूमा अंशकालिक तथा सट्टा कर्मचारी (relief staff) का रूपमा काम गरेका थिए।
उक्त घटनाले अष्ट्रेलियाभर अभिभावकहरूमा गहिरो आक्रोश र चिन्ता पैदा गराएको छ। बालसुरक्षा विशेषज्ञहरूका अनुसार, चाइल्डकेयर प्रणालीमा स्टाफ भ्यालिडेसन र पृष्ठभूमि परीक्षण प्रक्रियामा सुधारको तत्काल आवश्यकता छ।
सरकारी निकायहरू र भिक्टोरिया प्रहरीको संयुक्त टोलीले घटनाको थप अनुसन्धानलाई तीव्र बनाएको छ। सम्भावित थप पीडितहरूको पहिचानका लागि अपिल जारी गर्दै प्रहरी र बालसुरक्षा निकायहरूले अभिभावकहरूलाई कुनै पनि असामान्य व्यवहार वा चिन्ताजनक संकेत देखिए तुरुन्त नजिकको प्रहरी वा सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
सरकारले अब चाइल्डकेयर स्टाफको रेकर्ड, अनुमति प्रक्रिया, र रिपोर्टिङ प्रणालीलाई थप पारदर्शी र कडाइ गर्ने दिशामा काम भइरहेको जनाएको छ।
यस घटनाले अष्ट्रेलियाको बालबालिका सुरक्षा नीति र संस्थागत निगरानी प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ। यसकारण, पीडितहरूलाई न्याय सुनिश्चित गर्नुका साथै आगामी दिनमा यस्ता भयावह घटनाहरू दोहोरिन नदिन सरकार र सम्बन्धित निकायहरूबाट तत्काल र दीर्घकालीन सुधारको अपेक्षा गरिएको छ।






