
पश्चिम अष्ट्रेलियाको Wheatbelt क्षेत्रमा एक २६ वर्षीया जर्मन ब्याकप्याकर Carolina Wilga हराएपछि प्रहरीले गम्भीर खोजी अभियान सुरु गरेको छ। पछिल्लो दुई वर्षदेखि अष्ट्रेलिया भ्रमणमा रहेकी Wilga ले खानी क्षेत्रमा काम गरेर होस्टल बसाइ र यात्राको खर्च जुटाउँदै आएकी थिइन्।
उनलाई अन्तिमपटक जुन २९ मा Beacon क्षेत्रमा सीसीटीभीमा देखिएको थियो। सोही दिन उनी आफ्ना साथीहरूसँग अन्तिम पटक सम्पर्कमा थिइन्। त्यसको अघिल्लो दिन, जुन २८ मा, उनले Toodyay को Stirling Terrace मा रहेको एक स्टोरमा देखिएको प्रहरीको अनुमान छ।
नियमित सम्पर्क विच्छेदपछि परिवार चिन्तित
Carolina ले सधैं आफ्नो परिवारसँग नियमित रूपमा सम्पर्क गर्ने गरेकी थिइन्। तर, जुन १८ पछि उनीसँग कुनै सम्पर्क नहुँदा परिवारले प्रहरीमा खबर गरेका थिए। पश्चिम अष्ट्रेलियाका प्रहरी प्रमुख Col Blanch ले पत्रकार सम्मेलनमा भने, “हामी Carolina को सुरक्षाको विषयमा अत्यन्त गम्भीर छौं।”
जमीन र हवाई खोजी अभियान
प्रहरीले जमिन र हवाई दुवै माध्यमबाट खोजी अभियान जारी राखेको छ। खोजीको दायरालाई व्यापक बनाउँदै Beacon क्षेत्र र वरपरका उत्तरपूर्वी Wheatbelt क्षेत्रलाई केन्द्रित गरिएको छ। प्रहरीको विशेष टोली घटनास्थल वरपरको दृश्य परीक्षण तथा निगरानीमा सक्रिय रहेको बताइएको छ।

हत्या अनुसन्धान टोली पनि संलग्न
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै हत्या अनुसन्धान विभाग (Homicide Squad) लाई पनि अनुसन्धानमा संलग्न गरिएको छ। यद्यपि, प्रहरीले यसलाई हालसम्म हत्या घटना भनेर पुष्टि नगरेको स्पष्ट गरेको छ। प्रमुख Blanch ले भने, “हामी यस घटनामा हाम्रो उत्कृष्ट अनुसन्धान क्षमताको प्रयोग गरिरहेका छौं। हत्याको दृष्टिकोणबाट होइन, तर गम्भीर हराएको व्यक्तिको खोजीका रूपमा अनुसन्धान अघि बढाइरहेका छौं।”
पहिचान विवरण र गाडी
प्रहरीका अनुसार, Carolina दुब्लो शरीरकी, घुम्रीलो गाढा सुनौलो कपाल र खैरो आँखाकी युवती हुन्। उनका बायाँ हातमा विशेष चिन्हहरू देखिने ट्याटु रहेको बताइएको छ। उनी कालो र सेतो रंगको 1995 मोडेलको Mitsubishi Station Sedan मा यात्रा गरिरहेकी हुनसक्ने प्रहरीको अनुमान छ, जसको पश्चिम अष्ट्रेलियाली नम्बर प्लेट 1HDS 330 रहेको छ।
प्रहरीको अपिल
प्रहरीले Beacon र आसपासका क्षेत्रमा जुन २९ देखि जुलाई ४ सम्मको बीचमा केही असामान्य गतिविधि देखेका, वा Carolina वा उनको गाडी देखेका जो–कोहीलाई तुरुन्त प्रहरीसँग सम्पर्क गर्न अपिल गरेको छ।
प्रहरी प्रमुख Blanch ले भने, “हामी हाम्रो समुदायसँग हार्दिक अनुरोध गर्छौं — Caroline सम्बन्धी कुनै पनि जानकारी तपाईंहरूसँग छ भने तुरुन्त प्रहरीलाई जानकारी दिनुहोस्। सानो विवरणले पनि ठूलो अर्थ राख्न सक्छ।”
अनुसन्धान जारी
खोजी कार्य अझै जारी छ। प्रहरीले यस घटनालाई अत्यन्त संवेदनशील मानेको छ र सक्दो चाँडो सत्यतथ्य पत्ता लगाउने प्रयासमा जुटिरहेको जनाएको छ।
अधिकारिहरूले साथै सो क्षेत्रका सबै नागरिकलाई सजग रहन, र कुनै दृश्य, फुटेज वा विवरण छ भने नजिकको प्रहरी कार्यालय वा Crime Stoppers मार्फत जानकारी गराउन अनुरोध गरेका छन्।





